निजी अस्पताललाई कोरोना संक्रमितको उपचार गर्न सर्वोच्चको आदेश

maitrinews

काठमाडौं । सर्वोच्च अदालतले निजी स्वास्थ्य संस्थाबाट समेत कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले निजी स्वास्थ्य संस्थाले कुनै पनि वहानामा संक्रमणको उपचारबाट पन्छिन नमिल्ने आदेश गरेको हो । उपचारमा संलग्न हुने चिकित्सकलगायतका सबै स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षाको सामाग्री उपलब्ध गराउन पनि इजलासले आदेश गरेको छ ।

अदालतले निजी अस्पतालमा उपलब्ध भएसम्मका बेड, आइसियु कक्ष, भेन्टिलेटरलगायतका कोरोना संक्रमितको उपचारका लागि आवश्यक सेवा लिन र सोसम्बन्धी व्यवस्था मिलाउन पनि आदेशमा भनेको छ । अन्तरिम आदेशमा भनिएको छ, कुनै पनि निजी स्वास्थ्य संस्थालाई कुनै पनि बहानामा कोरोना संक्रमणको उपचार गर्नबाट पन्छिन र यस उपचारको कार्यबाट विमुख हुने अधिकार रहेको देखिँदैन ।

त्यसैले निजी स्वास्थ्य संस्थामा उपलब्ध भएसम्मको बेड, आइसियु कक्ष, भेन्टिलेटर लगायतका कोरोना भाइरसको उपचारको लागि आवश्यक पर्ने सेवा दिन आवश्यक व्यवस्था मिलाउनु र स्वास्थ्य सेवामा संलग्न चिकित्सक, परिचारिका, एम्बुलेन्स चालक, सफाइ श्रमिक, औषधि उत्पादन वितरण गर्ने कार्यमा संलग्न भएका श्रमिकहरु तथा जनताका दैनिक उपभोग्य वस्तुको उत्पादन तथा आपूर्ति गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई कोरोना संक्रमणबाट जोगाउनको लागि उनीहरुको कामको प्रकृतिको आधारमा काममा लगाउने संस्थामार्फत आवश्यक व्यक्तिगत सुरक्षा सामाग्रीको यथोचित प्रबन्ध गरी काममा लगाने व्यवस्ता मिलाउनु भनी विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ ।