कोरोना विशेष अस्पतालमा भेन्टिलेटर सहितको आइसियु सेवा सुरु

Mohan Bastola

बुटवल । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा भेन्टिलेटर सहितको आइसियु सेवा बैशाख १ गते सेवा शुभारम्भ हुने भएको छ ।अस्पतालको आईसियु कक्षको आज मुख्यमन्त्री शंकर पोखरेलले निरीक्षण गुर्नभयो ।

सो अवसरमा संक्षिप्त मन्तव्य राख्दै उहाँले लकडाउनको पालना र सामाजिक दुरी कायम गर्न सक्दा कोरोनाविरुद्ध लड्न सकिने बताउनुभयो । अहिलेसम्म प्रदेशमा कोरोना संक्रमित नदेखिएको, कोरोना संक्रमित देखिए र बिरामी गंभीर भए उपचारको लागि अस्पताल तयार हुनु सबैको लागि खुशीको विषय भएको बताउनुभयो ।
कोरोना विरुद्धको लडाई जित्नका लागि चिकित्सक सहितका स्वास्थ्यकर्मी अग्रमोर्चामा रहेर खट्नुपर्ने र उहाँहरुकै मिहिनेतले लडाई जित्न सकिने उहाँले बताउनुभयो ।

सरकारले कोरोना विरुद्धको संघर्ष जित्नका लागि सबै पूर्व तयारी गरिरहेको बताउँदै सिमा नाकामा कडाई गरिएको र राज्यले गरेका निर्णय कार्यान्वयनमा नागरिकको सहयोगले मात्रै कोरोनालाई जित्न सकिने बताउनुभयो । उहाँले अस्पताल निर्माणका लागि सहयोग गर्ने र खट्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष सुर्य भट्टराईले अस्पताल निर्माणमा सहयोग गर्ने दाताहरुको बिवरण प्रस्तुत गर्दै सबैलाई धन्यबाद ब्यक्त गर्नुभएको थियो । ४ वटा भेन्टिलेटर र ८ वटा आइसियु शैया राखिएको अस्पतालको आइएसियु कक्षमा थप १२ शैया हुने र २० शैयाको आइसियु हुने लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा।राजेन्द्र खनालले जानकारी दिनुभयो ।