वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको बताउनुभयो ।

वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो ।

भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । त्यसलगत्तै वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।

संक्रमण पुष्टि भएकामध्ये दुई जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको बुझिएको छ । सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यही बेलादेखि भारत फर्केका छैनन् ।