आजबाट नयाँ वर्ष सुरु, घरमै बसेर शुभकामना आदन–प्रदान गरिने

Mohan Bastola

काठमाडौँ । आजबाट विक्रम संवत् २०७६ समाप्त भई २०७७ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन आज नेपालभर धुमधामसँग नयाँ वर्ष नमनाई शुभकामना आदानप्रदान मात्र गरिने भएको छ ।

विगतमा होटल, रेष्टुरेन्ट, पार्क लगायतका स्थानमा भेला भएर नयाँ वर्ष मनाउने गरिए पनि यस वर्ष कोरोना भाइरस महामारीको जोखिमका कारण नेपालीहरुले घरमै बसेर नयाँ वर्ष मनाउने भएका हुन् ।

कोरोना संक्रमणको जोखिमका कारण विगत वर्षमा जस्तो घुमफिर एवं मेला महोत्सवमा सहभागी हुन सरकारले समेत प्रतिबन्ध लगाएको छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका मन्दिरमा पूजाआराधना एवं दर्शनका लागि लाग्ने भीड पनि यस वर्ष छैन । मन्दिरमा नित्य पूजामात्र हुने गरेको छ ।
नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिने चलन भए पनि यस वर्ष कोरोनाका सन्त्रासका कारण चैत ११ गतेदेखि निरन्तर देशभर बन्दाबन्दी भएकाले मानिस घरमै बसेका छन् ।