टर्कीका गृहमन्त्रीले दिए राजीनामा

maitrinews

 

टर्की । टर्कीका गृहमन्त्री सुलेमानी सोयलुले लकडाउन लागू गर्न असफल भएपछि आफ्नो पदबाट राजीनामा दिएका छन् । सुलेमानलाई टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनको निकै नजिक भएको मानिन्छ । टर्कीका सबै ३१ शहरमा लकडाउन घोषणा गरिएको थियो तर घोषणालगत्तै तनावग्रस्त स्थिति पैदा भएको थियो ।

त्यहाँको सरकारले शुक्रबार राति ४८ घण्टाको लकडाउन घोषणा गरेको थियो । शुक्रबार मध्यरातदेखि मानिसहरु आफ्नो घरबाट बाहिर निस्कन पाउँदैनथे तर लकडाउनको घोषणालगत्तै मानिसहरु किराना पसल र बेकरी सपमा सामान खरिद गर्नका लागि ह्वारह्वार्ती निस्कन थाले । हेर्दा हेर्दै स्थिति तनावपूर्ण हुन थाल्यो । प्रशासनले दैनिक उपभोग्य वस्तु तथा औषधिको खरिदमा कुनै प्रतिबन्ध नलाग्ने भनेर सम्झाए पनि स्थिति नियन्त्रणमा आउन सकेन ।

तत्पश्चात्, तत्काल कर्फ्यू लागू गरेपछि सर्वसाधारण र विपक्षी नेताले भयंकर आलोचना गर्न थाले । इस्तानबुलमा १.६ करोड बस्छन् र मानिसहरु हतारहतार किनमेलका लागि बाहिर निस्कन थाले । शहरका मेयरले ट्वीटरमा भिडियो पोस्ट गर्दै आफूहरुलाई लकडाउनको विषयमा पहिले नै सूचित नगरिएको बताए ।