लकडाउनमा पनि रेलमार्ग निर्माण जारी

maitrinews

 

सर्लाही। बन्दबन्दीमा पनि सर्लाहीमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम चलिरहेको छ । राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको रेलको लिग तथा पुल निर्माणका लागि काम भइरहेको हो ।
अहिले सर्लाही र महोत्तरीे जिल्लाको सीमामा पर्ने बाँके खोलामा मजदुर खटिएर धमाधम निर्माणको काम गरिरहेका छन् । उनीहरूले काम गर्दा आपसमा दूरी कायम गरी बाहिरबाट कोही मानिस आउन दिएका छैनन् ।
निर्माण कम्पनीका प्रतिनिधि तीर्थ श्रेष्ठका अनुसार बाहिरबाट कसैलाई पनि आउन नदिई आवश्यक सम्पूर्ण सामग्री जुटाएर काम धमाधम भइरहेको हो ।
बाँके खोलामा अहिले सबै ठाउँबाट आउने बाटो बन्द गरी एक दर्जन बढी मजदुर खटिएर काम गरिरहेका श्रेष्ठले जानकारी दिनुभयो । आफूहरूले काम मात्रै नगरेर रेलमार्ग निर्माणका लागि जम्मा गरिएका सामग्री कुर्ने कामसमेत गरिरहेको मजदुरहरूले बताएका छन् ।
बन्दाबन्दी सुरु हुनुभन्दा पहिले नै सामान आइपुगेको र बीच जङ्गलमा सामानको सुरक्षाका निम्ति पनि काम गर्नुपरेको श्रेष्ठको भनाइ छ । उहाँले कोरोना विषाणुको महामारी नियन्त्रण नहुन्जेल बाहिरबाट कामदार नल्याइने बताउनुभयो ।