सीमामा अलपत्र परेका नेपालीलाई व्यवस्थित रुपमा फर्काउन सर्वोच्चको आदेश

maitrinews

 

काठमाडौँ । सर्वोच्च अदालतले सीमावर्ती क्षेत्रबाट नेपाल फर्किन खोजेका प्रवासी नेपालीहरुलाई क्वारेन्टाइनको शर्तसहित व्यवस्थित रुपमा घर फर्किन दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले उनीहरुलाई फिर्ता ल्याउन र उद्दारका लािग आवश्यक गृहकार्य गर्न सरकारको नाममा अन्तरिम आदेश दिएको हो । उनीहरुलाई फिर्ता ल्याउनेक्रममा संक्रमण नियन्त्रणसम्बन्धी विश्वव्यापी मापदण्ड अनुसारका शर्त भने लागू हुनुपर्ने आदेशमा उल्लेख छ ।

अधिवक्ता सोमप्रसाद लुईटेलको निवेदनको सुनुवाईपछि जारी आदेशमा भनिएको छ, ‘उनीहरुलाई उद्धारका लागि आवश्यक प्रशासनिक, आर्थिक व्यवस्थापकीय पहल गर्न अन्तरिम आदेश जारी गरिदिएको छ ।’ सर्वोच्च अदालतले उनीहरुलाई शर्त बन्देजसहित फिर्ता ल्याउनुपर्ने संकेत गरेको हो । आफ्नो घर फर्कने अधिकार नागरिकको बैयक्तिक अधिकारको विषयवस्तु भए पनि त्यससँग बहुसंख्यक जनताको जीवन, स्वास्थ्य र सुरक्षाको हित जोडिएको भन्दै सर्वोच्च अदालतले त्यसलाई समेत सन्तुलित रुपमा सम्बोधन गर्नुपर्ने औल्याएको छ ।