भारतको महाराष्ट्रमा भीडले कुटीकुटी तीन जनाको हत्या

maitrinews

 

भारत । भारतको पश्चिमी राज्य महाराष्ट्रमा लकडाउन लगाइएको बेला तीन व्यक्तिलाई कुटीकुटी हत्या गरेको आरोपमा १०० जनाभन्दा बढी मानिसलाई पक्राउ गरिएको छ।

गत बिहीवार पालघर जिल्लामा उक्त घटना भएको थियो। भिडले ती तीन जनालाई साङ्घातिक आक्रमण गरेको दृश्य देखिने एउटा भिडिओ आइतवार भाइरल भएको थियो।

एउटा कारमा चढेर अन्तिम संस्कारमा सहभागी हुन जान लागेका ती तीन जनालाई अपहरणकारी भएको आशङ्कामा भिडले बाहिर निकालेर आक्रमण गरेको थियो।

मृत्यु हुनेमा ३५ र ७० वर्षका दुई साधु र तिनका ३० वर्षीय सवारीचालक हुन्।

भिडिओमा प्रहरीले जोगाउने प्रयास गर्दागर्दै पनि आक्रामक भिडले तिनलाई कुटपिट गरेको देखिन्छ।

भिडले ती तीन व्यक्ति बालबालिका अपहरण गर्न आएको शङ्का गरेको बताइन्छ।