कोरोना भाइरसबाट विश्वभर १ लाख ७० हजारको मृत्यु

maitrinews

 

अमेरिका । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार ४२४ पुगेको छ। मंगलबार विहानसम्म मृत्यु हुनेको संख्या १ लाख ७० हजार कटेको हो ।

विश्वभर संक्रमितको संख्या २४ लाख ८० हजार नाघेको छ। संक्रमितमध्ये अहिलेसम्म ६ लाख ४६ हजार २ सय ४८ जना उपचारपछि निको भएर घर फर्किएका छन्। कोरोनाका कारण अमेरिकामा १९ सय ३९ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या ४२ हजार ५ सय १४ पुगेको छ।संक्रमितको संख्या झण्डै आठ लाख पुगेको छ। अहिलेसम्म त्यहाँ ७ लाख ९२ हजार ७ सय ५९ जना संक्रमित भएका छन्। अमेरिकामा सोमबार एकै दिन २८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। कोरोनाकै कारण इटालीमा ज्यान गुमाउनेको संख्या २४ हजार नाघेको छ।

स्पेनमा अहिलेसम्म २० हजार ८ सय ५२ जनाको मृत्यु भएको छ। फ्रान्समा अहिलेसम्म २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ। फ्रान्समा सोमबार ५ सय ४७ जनाले ज्यान गुमाएका छन् । वेलायमा साढे १६ हजारभन्दा धेरैको मृत्यु भएको छ। त्यहाँ सोमबार ४ सय ४९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।

छिमेकी देश भारतमा मृत्यु हुनेको संख्या झण्डै ६ सयको नजिक छ भने नेपालमा हालसम्म कोरोनाका कारण कसैले ज्यान गुमाउनु परेको छैन । संक्रमित ३१ जनामध्ये ४ जना निको भएर घर फर्किसकेका छन् भने अन्यको अवस्था पनि सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।