आजमात्रै ११ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ४२

Mohan Bastola

काठमाडौँ कोरोना संक्रमितको संख्या आज एकैपटक १२ जना थप भएको छ । सोमबारसम्म ३१ जनामा सीमित रहेको थियो । आजै उदयपुरको भुल्केको मस्जिद वरिपरिका ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या ४२ पुगेको छ ।  स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीहरुका अनुसार मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा ३ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण देखिएको हो ।

थप संक्रमित ११ जनामा १८, १८, २०, ३३, ४०, ४१, ५२, र ५८ वर्षीय पुरुष तथा ३६ वर्षीया महिला र एक जना उमेर नखुलेकी महिला रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ।संक्रमण पुष्टि भएकामध्ये ४ जना निको भएर घर फर्किइसकेका छन् भने ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप संक्रमितहरु उदयपुरमा यसअघि संक्रमण पुष्टि भएका १२ जनाको संसर्गमा आएका व्यक्तिहरु हुन् । संक्रमण पुष्टिपछि कोसी अस्पतालमा उपचार गराइरहेका १२ जनाको संसर्गमा आएका २६० जनाको नमुना काठमाडौंमा परीक्षण गर्दा ३ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका भुल्केका रहेको नुरी मस्जिद वरपरका अन्य ६९ जनाको नमुना परीक्षणका लागि सोमबार नै कोसी अस्पताल विराटनगर पठाइएको थियो ।

कोसी अस्पतालका परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएपछि पुनर्पुष्टिका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । धरानमा पनि कोरोना पोजिटिभ देखिएपछि उनीहरुलाई थप उपचारका लागि कोसी अस्पताल पठाइएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा अब कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ४२ पुगेको छ ।