सीमा जोडिएका भारतका दुई जिल्लामा ११ जना संक्रमित

maitrinews

 

बाँके । बाँके जिल्लासंग सीमाना जोडिएका दुईवटा भारतीय जिल्लामा ११ जनामा कोरोना पोजेटिभ देखिएपछि यहाँस्थित नेपाल भारत सीमानामा थप कडाई गरिने भएको छ ।

नेपालगञ्जसंग जोडिएको सीमापारीको बहराईच जिल्लामा एक नेपाली सहित ८ जना र नरैनापुरसंग सीमाना जोडिएको सीमापारीको श्रावस्ती जिल्लामा ३ जना कोरोना संक्रमित भेटिएपछि सीमानामा थप सतर्कता र कडाई गर्न लागिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

सीमापारी ११ जनामा संक्रमण देखिएपछि बाँकेका सर्वसाधारणबाट सीमानामा कडाई गर्ने र भारतबाट आउने सामान र गाडीमा समेत निगरानी बढाउने दबाव बढेपछि झन कडाई गर्न लागिएको प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताउनु भयो ।

उहाँले जिल्लाको मुख्य नाका सहित ६५ किलोमिटरको खुला सीमानामा सुरक्षाकर्मीहरु थपेर कडाई गरिएपनि त्यसको नियमित अनुगमन र थप कडाई गर्न लागिएको बताउनु भयो ।
सीमापारी नजिककै देखिएकोले थप सतर्कता र सुरक्षा उपायहरु अपनाउनु अतिआवश्यक देखिएको पनि प्रमुख जिल्ला अधिकारी खड्काले बताउनु भयो ।