नेपाल प्रचण्डको ‘गोटी’ बन्दा नेकपालाई घाटा, प्रचण्डको रणनीति सफल

Mohan Bastola

काठमाडौँ । मुलुक कोरोनाको कहरमा छ । तर, यहि बेला केही नेतामा कुर्सी मोह सलह झैँ झाँगिएपछि नेकपाभित्रको अन्तरविरोधले निकै चर्चा पाएको छ । संविधानसभाको पहिलो निर्वाचनमा बेलुन जसरी फुलेको तत्कालिन नेकपा माओवादी पछिल्ला निर्वाचनमा विस्तारै टाक्सिन थालेको थियो । संविधानसभाको दोस्रो निर्वाचनमा खुम्चिएर तेस्रो स्थानमा पुगेको माओवादी भित्रैको भाँडभैलोले विभिन्न चिरा परेको थियो । त्यसपछिको स्थानीय निर्वाचनमा झन आफ्नो आकार खुम्च्याएर स्थानीय पार्टीको हैसियतमा पुगेपछि तत्कालि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटै कम्युनिष्ट केन्द्र बनाउने भन्दै माओवादीलाई त्राण दिनुभएको थियो । नेकपा एमालेकै बैशाखी टेकेर लोप हुन लागेको माओवादीले प्रदेश र संघीय निर्वाचनमा मुलुकभरीबाट ४० प्रतिसत स्थान पक्का गरेको थियो ।

कुनै समय वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै भन्ने गर्नुभएको दुई माने माओवादीलाई एमालेकै जोडबलमा एक पाथे बनाउने काम भयो । त्यहि गतिणतलाई आधार मानेर प्रचण्डले पार्टी एकता गर्दा ४० प्रतिशतको भागबण्डा प्राप्त गर्न सफल भएको विगत घाँम जस्तै छर्लङ छ । अहिले त्यहि गणितमा चलखेल गरेर प्रचण्डले पूर्व एमाले भित्रै खेल्न थालेपछि पूर्व एमाले नेता–कार्यकर्ता झस्किएका छन् ।

पछिल्लो समय प्रचण्डले मुख्य गरेर लामो सयम नेकपा एमालेको नेतृत्व गर्नुभएका माधवकुमार नेपाललाई ‘गोटी’ बनाउन थालेपछि स्वर्णिम इतिहास बोकेको तत्कालिन नेकपा एमालेका नेता–कार्यकर्ता बढी चिन्तित बनेका छन् ।

कुर्सीका लागि जस्तो पनि चाल चाल्न सक्ने क्षमताका प्रचण्डले पछिल्लो समय नेपालाई प्रधानमन्त्री र अर्का नेता झलनाथ खनाललाई राष्ट्रपतिको ललिपप देखाएर पार्टी नै फुटाउने र आफूले नेकपा कब्जा गर्ने रणनीति लिएर बाक्लै छलफल गरेपछि अहिले पूर्व एमालेका आम नेता–कार्यकर्ताले नेपाल–ओलीको गठबन्धन खोजेको बुझिएको छ ।
प्रचण्डले पछिल्लो समय पार्टी कब्जा गर्ने रणनीति अनुसार खुलमखुला भेला गर्न थालेपछि ओली पक्ष र नेपाल पक्षका नेताहरुबीच समझदारीका प्रयासहरु सुरु भएका छन् । स्रोतका अनुसार दुबै पक्षले चार–चार जना नेता खटाएर सहमतिको बिन्दु खोज्दै गरेको बुझिएको छ ।

जानकारी अनुसार प्रधानमन्त्रीनिवास बालुवाटारमा दुई पक्षीय छलफल हुने समेत बुझिएको छ । यसका लागि ओलीले नेपाल पक्षसँग निर्णायक संवाद गर्न आफू निकट नेताहरु ईश्वर पोखरेल, बिष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली लगायतलाई खटाएको र उहाँहरुले माधव नेपालसँगको छलफललाई तिव्रता दिएको बुझिएको छ । यता नेपाल पक्षबाट पनि नेता नेपालसहित स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तले छलफलका लागि सक्रियता बढाएको बुझिएको छ ।

प्रचण्डकै डिजाइनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट विदा गर्नेसम्मका खेल सुरु भएपछि पछिल्लो समय ओली पनि प्रचण्डको गतिविधिबाट असन्तुष्ट रहेको बुझिएको छ । जनताको बहुदलीय जनबादलाई मार्गदर्शक सिद्धान्त मानेर हिडेको तत्कालिन नेकपा एमाले पछिल्लो समय माओवादीलाई समेत मिसाएपछि जबज समेत धरापमा परेको भन्दै नेतृत्वलाई कडा दबाब आउन सुरु गरेको छ । अलिक बढी नै भावनामा बग्ने बामदेव गौतमलाई समेत गोटी बनाएर प्रचण्डले नेकपा भित्र खेलिरहेको बुझ्न मुस्किल छैन । प्रचण्डले चाहिने भन्दा बढी नै खेल्न थालेपछि बामदेव समेत झस्किएको अनुमान अहिले धेरैले गर्न थालेका छन् । बामदेव गौतमले हिजो जारी गरेको विज्ञप्ति त्यसैको एक संकेत भएको बुझिएको छ । गौतमले मदन भण्डारी फाउण्डेशनकै लोगो एको कापिमा विज्ञप्ति जारी गर्नुले पनि गौतम जबजप्रति अडिक रहेको संकेत गर्छ । अन्तिममा जबजको विचार बोक्ने नेताहरु एक ठाउँमा आउने अवस्थामा गौतम पनि ओली–नेपालकै लाइनमा आउने अनुमान धेरै नेताहरुले गरेका छन् ।

अहिले ओली–नेपालबीच छलफल बाक्लिन थालेपछि प्रचण्ड थप पीडामा रहेको बुझिएको छ । नेकपा भित्र खेल्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेतासँग समेत केही दिन अघि पूर्व पञ्चको घरमा प्रचण्डले भेला गरेका समाचार समेत बाहिर आउन थालेपछि प्रचण्ड कतिसम्म तल ओलिएर कुर्सीप्राप्तिको खेलमा लाग्नुभएको रहेछ भन्ने अनुमान सामान्य कार्यकर्ताले पनि गर्न थालेका छन् । पार्टी एकतालाई बचाउने हो र कम्युनिष्ट पार्टीको अस्थित्व पनि जोगाइराख्ने हो भने यो संकट टार्न नेपाल–ओली मिल्नुको विकल्प छैन भन्ने कार्यकर्ताको माहोल बढ्न थालेको छ । ‘कार्यकर्ताको समेत भावनालाई कदर गर्दै दुई नेता अघि बढ्नुको अर्को विकल्प छैन,’ नेकपाकै एक स्थायी कमिटी सदस्यले भन्नुभयो, ‘प्रधानमन्त्रीज्युलाई गलाउने भन्दा पनि पार्टी बचाउनेतिर बढी ध्यान दिन जरुरी छ । त्यसका लागि दुई नेता मिल्नुको विकल्प छैन ।’ त्यसो ती नेताले आफूलाई अपमानित ढंगले हटाउने गरी गरिएका सबै षडयन्त्रलाई तोड्दै पार्टीलाई एक ढिक्का बनाएर लैजाने तयारीमा प्रधानमन्त्री रहनु भएको छ । त्यसका प्रधानमन्त्री हदैसम्म लचक हुन आफू तयार रहेको बुझिएको छ । स्रोतका अनुसार नेपाल समूहका केही माग सम्वोधन गर्न समेत ओली सकारात्मक देखिएको बुझिएको छ । ओली पक्ष नेपाल सकारात्मक भए उहाँलाई समेत अध्यक्ष बनाउन तयार रहेको समेत बुझिएको छ ।