संसदीय दलको गणितमा बहुमतमाथि ओली, नेपाल–प्रचण्ड समूहको जिल्लामै खटपट

Mohan Bastola

काठमाडौँ । कषिमन्त्री एंव नेकपाका नेता घनश्याम भुषालले सामाजिक सञ्जालमा लेखेको एक स्ट्याटसले अहिले धेरैको ध्यान केन्द्रित गरेको छ । कुनै समय प्रधानमन्त्री केपी शर्मा ओलीका कठोर आलोचक मानिनु हुने भुसालले पछिल्लो समय नेकपा भित्रको अन्तरविरोधप्रति संकेत लेख्नुभएको छ–२०५४ सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा रहेका बेला फुट्यो र २०४७ सालको प्रजातन्त्र अस्थिर हुँदै गयो । २०६४–६५ मा नेकपा माओवादी प्रलयकारी शक्तिकासाथ अगाडि आयो । र विभाजनको प्रक्रियामा गयो । आज नेकपा असाधारण शक्ति र प्रभावकासाथ उपस्थित छ। र यसमा समस्या थपिँदै गएका छन्।

समस्याले उपयुक्त समाधान खोज्छ । अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउँछ। उहाँले थप लेख्नु भएको छ–पार्टीको एकता बचाउन, लोकतन्त्र र समाजवादका मूल्यहरुको जगेर्ना गर्न पहिलो, नहडबडाउँ, दोस्रो, संवाद गरौं र तेस्रो, संस्थागत प्रणालीभित्रै समाधान खोजौं ।आज मुलुकले सबै कमरेडहरुबाट जिम्मेवारी बोधको ऐतिहासिक गम्भीरता माग गरेको छ।’

भुसालका यी भनाई अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चौतर्फी घेराबन्दीमा पार्ने खेल पार्टी भित्रैबाट भएको प्रति संकेत गरिएको छ भनेर बुझ्न मुस्किल छैन ।
भुसाल मात्रै होइन अहिले पार्टीलाई विभाजनको दिशातिर लगेर वा पार्टीलाई कमजोर बनाएर भए पनि कुर्सीको मात्रै ध्यानमा रुमलिएका केही नेताप्रति नेकपाका धेरै नेता–कार्यकर्ता रुष्ट बनेका छन् ।

जनताको म्याण्डेटसहित पाँच वर्षका लागि प्रधानमन्त्री बन्नु भएका पार्टी अध्यक्ष समेत रहनुभएका केपी शर्मा ओलीलाई घेराबन्दीमा पारेर कुर्सी लालचको खेलमा शीर्ष नेताहरु नै लागेका छन् । प्रधानमन्त्री ओलीले काम गर्ने शिलशिलामा केही कमजोरी भए सच्याएर अघि बढ्न आफू तयार रहेको भने पनि अहिले मुलुक नै कोरोनाको कहरमा रहेका बेला अपमान जनक ढंगले प्रधानमन्त्रीलाई गलाउने खेल सुरु भएपछि उहाँ पनि आफ्नो पक्षमा गणित बलियो बनाउन लाग्नु भएको बुझिएको छ ।
प्रधानमन्त्री ओली पछिल्लो समय सचिवालय र स्थायी कमिटीमा कमजोर अवस्थामा रहेको भन्ने अनुमानका भरमा अर्का अध्यक्ष प्रचण्ड, नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालले स्थायी कमिटी बोलाएर सकेसम्म दुबै पदबाट नभए एक पदबाट मात्रै भए पनि विदा गर्ने खेल सुरु गरेपछि ओलीले पनि संसदीय दलको बैठक बोलाएर त्यहाँ आफ्नो पक्षमा बहुमत पुर्याउने कसरत सुरु गर्नुभएको छ ।

विश्वस्त सुत्रका अनुसार प्रधानमन्त्री ओलीले आफू निकटका सांसदलाई बालुबाटारमै केही घण्टा प्रक्षिण नै दिएर जसरी पनि संसदीय दलमा बहुमत पुर्याउने अभियानमा लाग्न निर्देशन दिनुभएको थियो । बालुवाटारमा सचिवालय बैठक बस्नु केही अघिसम्म ओलीले आफ्नो पक्षमा राष्ट्रियसभा र प्रतिनिधिसभाका १ सय २७ जनाको हस्ताक्षर संकलन गरेको बुझिएको छ ।

प्रतिनिधिसभामा पूर्वएमालेबाट प्रत्यक्षतर्फ ८० र समानुपातिकतर्फ ४१ सांसद छन् भने पूर्वमाओवादीबाट प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ सांसद छन् । पूर्वएमालेका १ सय २१ मध्ये ओली समूहका मात्रै ७८ जना सांसद थिए । यता माधव नेपाल समूहका ४३ सांसद थिए । यहि गणितलाई आधार मान्ने हो भने पनि नेकपाको संसदीय दलमा ओलीलाई बहुमत ल्याउन १० सांसद आवश्यक पर्ने देखिन्छ । तर, अहिले ओली प्रधानमन्त्री रहेका बेला र अर्को समुहका भनिएका केही मन्त्रीहरु समेत ओलीको पक्षमा देखिनुले पनि ओलीलाई संसदीय दलमा बहुमत पुर्याउन सजिलो देखिन्छ । अझ हस्ताक्षर संकलन अभियानले त ओली समूह सन्तुष्ट देखिएको छ । जानकारी अनुसार हस्ताक्षर संकलनमा ओलीको पक्षमा संसदीय दलमा मात्रै ९६ बढी पुगेका छन् भने केही मन्त्रीले समेत हस्ताक्षर गर्ने संकेत गरेका छन् । यसले पनि ओलीको गणित बलिया रहेको बुझिएको छ । राष्ट्रिय सभाको समेत जोड्ने हो भने १ सय २७ ले हस्ताक्षर गरेको बुझिएको छ ।

प्राप्त जानकारी अनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार टिकाउ बहुमतका लागि १३८ जना सांसद चाहिन्छ । अहिले नेकपासँग अत्यधिक बहुमत अर्थात, कुल १७४ सांसद छन् । केही नेताले कुर्सी मोहका लागि हुँडलो गरेपनि ओलीलाई प्रधानमन्त्री टिकाइ राख्न सजिलै बहुमत पुग्ने समेत आधार बनेको बुझिएको छ । अहिले ओली समुहले हस्ताक्षर संकलन सुरु गरेपछि नेपाल–प्रचण्ड समूहले पनि हस्ताक्षर संकलन सुरु गरेको छ । तर, केही जिल्लाको आन्तरिक विवादका कारण पनि नेपाल–प्रचण्ड समूहका सांसदले ओलीलाई समर्थन गर्ने अनुमान गरिएको छ । त्यस्ता जिल्लामा उदयपुर रौतहतलगायत छन् ।