ओलीको प्रस्तावपछि बालुबाटारमा सन्नाटा, गौतमका मुहारमा मुस्कान, नेपाल–प्रचण्ड मुखामुख

Mohan Bastola

काठमाडौँ । निकै ठूलो रस्साकस्सीपछि बुधबार साँझ नेपालको सबै भन्दा ठूलो र सरकारको समेत नेतृत्व गरेको राजनीतिक दल नेकपाको सचिवालय बैठक बस्यो । धेरैले केही न केही नयाँ खुराक आउला भन्ने अपेक्षा गरेका थिए । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई गलाएर एक्लो बनाउने ध्याउन्नमा रहनु भएका अर्का अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमसहितले बाक्लै भेला गर्नुभएको थियो । उहाँहरुले प्रधानमन्त्रीलाई राजिनामा दिन बाध्य पार्ने र अध्यक्षबाट समेत हटाउनेसम्मको अकल्पनीय योजना बुनेपछि पछिल्लो समय प्रधानमन्त्री पनि रक्षात्मक अवस्थामा हुनुहुन्थ्यो । उहाँले पनि प्रचण्ड र नेपालसँग छुट्टाछुट्टै छलफल गरी सकेसम्म अहिलेको विवाद अन्त्य गर्ने र पार्टीलाई एक ढिक्का बनाउने योजना बनाउनु भएको थियो । उहाँले आफूले काम गर्ने शिलशिलामा केही कमजोरी गरेको भए त्यसलाई पनि सच्याएर जानेसम्मको नरम बन्ने संकेत गर्नुभएको थियो ।

त्यहि अनुसार नै बेलुका बालुवाटरमा सचिवालय बैठक बसेको थियो । बालुबाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली सकेसम्म सबै नेताका कुरा सुन्ने र अन्तिमका आफ्ना भनाई राख्ने मुडमा हुनुहुन्थ्यो । त्यहि भएर सुरुमै उहाँले प्रचण्डलाई आफ्ना भनाई राख्न अनुमति दिनुभएको थियो । तर, प्रचण्ड अकल्पनीय ढंगले प्रस्तुत भएपछि ओलीले प्रचण्डलाई बिचमै रोकेर नयाँ प्रस्ताव राख्नु भयो । सचिवालयका कुनै पनि नेताले कल्पना समेत नगरेको प्रस्ताव ओलीले राख्नुभयो ।

उहाँले निकै नरम शैलीमा अहिले मुलुक कोरोनाको कहरमा रहेको भन्दै कोरोनाको कहर सकिएपछि बामदेव गौतमलाई प्रधानमन्त्री र नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राख्नुभयो । ओलीको प्रस्तावपछि केहीछिन बैठक कक्षमै सन्नाटा छायो । त्यति मात्रै होइन सबै नेता मुखामुख गर्न थाल्नुभयो । बामदेव गौतम ओलीकै मुखबाट त्यस्तो प्रस्ताव आएपछि झन् बढी अलमलमा पर्नुभयो । अप्रत्यासित प्रस्ताव ओलीबाट आएपछि गौतमले सुरुमा त्यो प्रस्तावको विश्वास नगरे पनि पछि भने उहाँ सकारात्मक बन्नु भएको बुझिएको छ । त्यो प्रस्तावका पक्षमा उपप्रधानमन्त्री ईश्वर पोख्रेल र महासचिव विष्णु पौडेलले पनि समर्थन गरेपछि गौतमको मुहारमा मुस्कान देखिएको थियो । यता नेपाल–प्रचण्ड भने अलमलमा पर्र्नुभएको थियो ।

स्रोतका अनुसार ओलीलाई प्रचण्डले बैठकको सुरुमै अप्रिय ढंगले आरोप लगाउन थालेपछि ओलीले पनि आफू पार्टीलाई एकताबद्ध बनाउने कुरामा कुनै कसी नराख्ने मनस्थितिमा रहेको जवाफ दिनुभएको थियो । तर, अत्याधिक पेल्न खोजे आफू पनि झुक्ने अवस्थामा नरहेको प्रतिक्रिया दिनुभएको थियो । उहाँले पेलेरै जाने मनस्थितिमा गुटबन्धी गरेको भए आफू संसदीय दलमा भिडेर बहुमत पुर्याउने तयारीका साथ लागेको पनि जवाफ दिनुभएको थियो । बैठक यहि बैशाख २० गते बस्ने गरी स्थगन भएको छ ।