नेपालीहरु आफन्त जस्तै बसेका हुँदा चिन्ता नलिनुस : इजरायलका राष्ट्रपति रुभेन रुबि रिभ्लिन

maitrinews

काठमाडौं । आज बिहीवार अपरान्ह नेपाली समयअनुसार करीब ३ः४५ बजे प्रधानमन्त्री केपी शर्मा ओली र इजरायलका महामहीम राष्ट्रपति रुभेन रुबि रिभ्लिन बीच करीब २० मिनेट जति टेलिफोन संवाद भएको छ । संवाद त्यहाँ रहेको नेपालीहरुको सुरक्षा र उहाँहरुको कल्याणका विषयमा केन्द्रीत भएको थियो । यस्तै प्रधानमन्त्री ओलीले इजरायलको ७२ औं स्वतन्त्रा दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नु भएको थियो । यस्तै नेपाल र इजरायलको दौत्य सम्बन्ध स्थापना भएको ६० बर्षगाँठको उपलक्ष्यमा शुभकामना दिंदै दुई देशको सम्बन्ध अझ प्रगाढ हुंदै जाने कुरा राष्ट्रपति रुभेन एवं प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभएको थियो । यस संवादमा प्रधानमन्त्री ओलीले इजरायलले कृषि लगायत विविध क्षेत्रमा गरेको अभूतपूर्व प्रविधिको विकास वारेमा प्रशंसा गर्दै कृषि प्रधान देश नेपालमा उक्त प्रविधिहरु भित्र्याउन इजरायल सरकारले सहयोग गर्ने अपेक्षा गरेको बताउनु भयो । इजरायका महामहिम राष्ट्रपति रुभेन रुबि रिभ्लिनले पनि नेपाललाई चाहिने सहयोग गर्न आफूहरु तयार भएको बताउँदै उहाँले नेपालीहरु आफन्त जस्तै गरी इजरायलमा बसेका हुँदा चिन्ता नलिन भन्नु भयो ।

संवाद सकिए लगतै प्रधानमन्त्री ओलीले ट्वीट गर्नु भएको थियो । ट्वीटमा प्रधानमन्त्री ओलीले लेखेका छन् “आज मेरो इजरायका महामहिम राष्ट्रपति रुभेन रुबि रिभ्लिनसँग टेलिफोन संवाद भयो । मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणको बारेमा चासो राखें । उहाँले नेपालीहरु आफन्त जस्तै बसेका हुँदा चिन्ता नलिन भन्नु भयो । ” राष्ट्रपतिको उक्त भनाईले इजरायलमा नेपालीहरुलाई अवश्य पनि सुरक्षा, सहायोग र राहत मिल्ने देखिन्छ ।

इजरायलका लागि नेपालका राजदूत महामहिम डा. अन्जान शाक्यले नेपालमा कृषिक्षेत्रको विकास गर्न र इजरायली प्रविधि नेपालमा ल्याउनका लागि नेपालमा Agriculture Center of Excellence खोल्न दुईदेश वीच सम्झौतागर्नका लागि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगिसकेको तथ्य प्रधानमन्त्री ओलीलाई पहिलेनै जानकारी दिनुभएको थियो । यस्तै शिक्षा, स्वास्थय, विज्ञान प्रविधि, कला, संस्कृति, पूर्वाधार विकास , व्यापार व्यवसाय आदि विभिन्न अन्य विषयमा पनि विभिन्न सम्झौता भईसकेको कुरा पनि राजदूत डा. शाक्यले अवगत गराउनु भएको थियो ।

प्रधानमन्त्री ओली र इजरायलका राष्ट्रपति रुभेन रिभिन बीच संवाद गराउन नेपाली राजदुतावासले सवै प्रवन्ध मिलाएको स्रोतले बताएको छ । यस अघि पनि दूतावासको समन्वयमा प्रधानमन्त्री ओलीले र साइप्रसका राष्ट्रपतिबीच संवाद भएको थियो । त्यसपछि त्यहाँ रहेको नेपालीहरुलाई साइप्रस सरकार र नेपाली कन्सुलर, एनआरएन सहज भएको बताईन्छ ।