लकडाउनमा बढ्यो साइबर अपराध

maitrinews

 

काठमाडौँ । साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय केही दिनको हिरासत बसाइपछि धरौटीमा रिहा भए।

सामाजिक सञ्जालमा राष्ट्रपति, प्रधानमन्त्री एवम् धार्मिक सहिष्णुतामा खलल पुग्नेगरीु जथाभावी टिप्पणी गरेको अभियोगमा नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरि काठमाण्डू जिल्ला अदालतमा पेश गरेको थियो।

लकडाउनकै अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोलाई काँटछाँट गरेर श्रीपेचसहितको फोटो र स्टाटस आफ्नो फेसबुक पोष्ट गरेको आरोपमा पक्राउ परेका एक व्यक्ति पनि एक लाख दश हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।

उच्च पदमा रहेका केही व्यक्तिहरू विरुद्ध प्रयोग गरिएका गालीगलौजयुक्त शब्द फेसबुकमा पोष्ट गरेको आरोपमा पक्राउ परेका एक युवा पनि २५ हजार धरौटीमा रिहा भएका छन्।

कोरोनाभाइरससम्बन्धी अफवाह नफैलाउन सरकारले गरेको आह्वानविपरीत महामारीका कारणले मृत्यु भएकोबारे गलत समाचार फैलाएको आरोपमा पक्राउ परेका अर्का युवा पनि हाल २५ हजार रुपैयाँ धरौटीमा छुटेका छन्।

सामाजिक सञ्जालको दुरुपयोग

कोरोनाभाइरसका कारण लागु गरिएको लकडाउनको अवधिमा गत चैत्र ११ गतेयता यस्तै प्रकृतिका झण्डै १९० वटा साइबर अपराधसम्बन्धी उजुरी परेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ।

तीमध्ये १८० भन्दा बढी फेसबुकसँग सम्बन्धित रहेको र उक्त सङ्ख्या विगत महिनाहरूको तुलनामा झण्डै दोबर रहेको बताइएको छ।

ब्यूरोका अनुसार तीमध्ये केहीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत रहेर कारबाही गरिएको छ।