राजनीतिको बक्ररेखा, ओली फेरि बहुमतमा, नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्तावको च्याप्टर क्लोज

Mohan Bastola

काठमाडौँ । राजनीति समान रेखामा मात्रै कुद्दैन, बक्र रेखामा पनि कुदिदिन्छ । हो, सरकारको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अहिले त्यस्तै भएको छ । केही हप्ता अघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा अध्यादेश ल्याएपछि त्यसले निकै ठूलो तरंग सिर्जना गरिदियो । यतिसम्म कि त्यो अध्यादेशले पार्टी अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री ओलीलाई रक्षात्मक बनाइदियो । उहाँले आफ्नो त्यो निर्णयलाई टिकाइ राख्न सक्नु भएन र नौ जनाको सचिवालय बैठकमा फिर्ता गरेको घोषणा गर्नुभयो । उहाँले अध्यादेश फिर्ता लिएपछि अवस्था सामान्य होला भन्ने ठान्नु भएको थियो ।

तर, उहाँको सोचाइ भन्दा विल्कुल फरक ढंगबाट राजनीति अघि बढ्यो । यतिसम्म कि सचिवालयका नौ मध्ये छ जनाको बलियो गठबन्धन बन्यो भने ओलीका विश्वास पात्र मानिनु भएका महासचिव विष्णु पौडेलसमेत अर्का अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपालसँगै झलनाथ खनालकै पक्षमा उभिएको संकेत गरेपछि राजनीति निकै पेचिलो बन्यो । उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले भने ओलीको साथ छाड्नु भएको थिएन । दुई तिहाई नजिकको जनमतसहित प्रधानमन्त्री बन्नु भएका ओली आफ्नै नेताहरुको गणतिमा निकै रक्षात्मक बन्नुभयो । केही दिन त ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबैबाट हटाउनेसम्मका गठाजोड भयो । तर, ओलीले जस्तो सुकै परिस्थितिको सामना गर्न तयार रहेको संकेत गर्दै अपमान जनक ढंगले हटाउन खोजे प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै नछाड्ने कडा प्रतिक्रिया दिनुभयो । केही दिन अघि बसेको सचिवालय बैठकमा समेत ओलीले केही समयपछि अर्थात कोरोनाको कहर सकिएपछि बामदेव गौतमलाई प्रधानमन्त्री बनाउ सकिने संकेत गर्दै माधव नेपाललाई तेस्रो पार्टी अध्यक्ष बनाउनेसम्मको प्रस्ताव राख्नुभयो । ओलीको प्रस्तावपछि बामदेव नरम बन्नुभयो भने प्रचण्ड–नेपाल जसरी पनि ओलीलाई गलाउने योजनामा लाग्नुभयो ।

त्यसपछि पनि बाक्लै भेला भए । तर, आज सचिवालय बैठक बस्नु भन्दा केही समय अघि मात्रै महासचिव पौडेलले एक अनलाइनमा प्रधानमन्त्रीले दुबै पद नछाड्ने कडा अन्तरवार्ता दिनुभयो । अर्का नेता रामबहादुर थापा बादल पनि पहिलादेखि नै ओलीको पक्षमा रहनु भएको थियो । सचिवालय बैठक बस्नु अघि ओली र गौतमबीच पनि छलफल भयो । गौतमले पनि ओलीलाई समर्थन गर्ने ग्रिनसिग्नल पाएपछि प्रधानमन्त्री थप बलियो मात्रै होइन बहुमतको पक्षमा देखिनुभयो । सचिवालय बैठकको केही अघि करिब ४० मिनेट अर्का अध्यक्ष प्रचण्डसँग पनि छुट्टै वार्ता गर्नुभएका ओली त्यसपछि झन ढुक्क हुनुभएको थियो । अघिल्लो बैठकको तुलनामा निकै प्रसन्न देखिनु भएका ओलीले बैठकको सुरुमै आत्माआलोचना गर्दै निकै कुटनीतिक ढंगले आफू बहुमतमा रहेको संकेत गरिदिनुभयो ।

आजको सचिवालय बैठकमा ओलीलाई दुई मध्ये एक पद र अझ प्रधानमन्त्रीबाट राजिनामाको घोषणा गर्न बाध्य बनाउने योजनासहित बालुबाटार पुग्नु भएका प्रचण्ड, खनाल र नेपाल बैठकमा ओली दर्विलो रुपमा प्रस्तुत भएपछि सितङ्गो बन्नुभयो । कुनै समय ओली केही मुख्यमन्त्री र मन्त्रिमण्डल नै परिवर्तन गर्न सम्म तयारी अवस्थामा हुुनुहुन्थ्यो । तर, केही दिनमै राजनीति यति बक्र रेखामा गइदियो कि ओलीलाई ती सबै कुराको झण्झट नै भएन । बैठकमा गौतमलाई समय मिलाएर संघीय संसदका सांसद बनाउने निर्णय भयो । नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव पनि पानीको फोका जसरी फुट्यो । अन्तिममा नेपाल–प्रचण्डको स्थायी कमिटी बैठक बोलाउने माग भने सम्वोधन भयो । बैठकले पार्टी विभाजन गर्ने खालका अभिव्यक्ति कसैले पनि नदिने समेत निर्णय गरेपछि अहिलेको अप्ठ्यारो टरेको छ भने केही दिनदेखि तनावमा रहनु भएका प्रधानमन्त्री ओलीलाई पनि हाइसन्चो भएको छ ।