नेपाली जनताको चाहना सम्बोधन गरेको नेकपाको निर्णय

maitrinews

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा एकढिक्का भएको छ । नेतृत्वको टकराव र विवादले कतै दुर्घटना हुने त होइन भनी चिन्तित बनेका नेकपाका कार्यकर्ता तथा आम नेपाली जनता पार्टी नेतृत्वले परिपक्क निर्णय गरेसँगै उत्साहित भएका छन् । यो निर्णयले मुलुकमै नयाँ उत्साह छाएको छ । परिपक्क नेतृत्वले परिपक्क निर्णय गर्छ । नेकपा सचिवालय बैठकले सकारात्मक निर्णय गर्यो । पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने एजेण्डा बैठकमा प्रवेशनै गरेन । किनभने पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले अघिल्लो बैठकमा गरेको गल्ती सच्याउनुभयो । उहाँहरु स्वयंले राजिनामा प्रकरण उपयुक्त नरहेको र मिलेर जानुपर्नेमा आफूहरु सहमत भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आरम्भदेखिनै पार्टीसँगको परामर्शमा सरकार संचालन गर्न तयार रहँदै आएको बताउनुभएको थियो । संसदीय पद्धतीमा प्रधानमन्त्रीका केही बिशेषाधिकार हुन्छन् । तीनको प्रयोगका सन्दर्भमा समेत अव प्रधानमन्त्रीले पार्टीसँगको परामर्शमा गर्ने सहमति पनि भएको छ । प्रधानमन्त्री, अध्यक्ष प्रचण्डले अव सबै मिलेर जाने र बिगतका गल्तीकमजोरी नदोहोर्याउने बताउनुले पार्टी कार्यकर्तामा उत्साहको संचार गरेको छ ।

कोरोनाबिरुद्ध नेपालले प्रभावकारी युद्ध लडिरहेको बेला सरकार परिवर्तन र पार्टी नेतृत्वमा परिवर्तनजस्ता मुद्दा उपयुक्त थिएनन् । त्यस्ता मुद्दा उठाउने उपयुक्त समय त थिएननै, आन्तरिक रुपमा समेत छताछुल्ल पार्नुहुने थिएन । ढिलै भएपनि नेतृत्वले यो बुझ्यो । माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायत सचिवालयका सबै सदस्यले आफ्नो हैसियत पनि बुझ्नुभयो र सकारात्मक योगदान पनि गर्नुभयो ।

पार्टी सामुहिक नेतृत्व प्रणालीमा र सरकार पनि पार्टीको सल्लाह र सुझावमा संचालन हुने परिपार्टीमा अव जानुपर्छ । एउटा कुरामा सबै प्रष्ट हुनुपर्छ– केपी ओलीका पक्षमा जनमत छ । त्यो जनमत नेपाल निर्माणको जनमत हो । त्यसैले ओलीको नेतृत्वमा सम्पूर्ण पार्टीको अव एकमात्र एजेण्डा समृद्ध नेपाल र सुखी नेपालीको हुनुपर्छ । ओलीसँग देश विकासको दृष्टिकोण छ र कार्यक्रम छन् । स्वतन्त्रता र आत्मासम्मानको मुल्य उहाँले जति कसैले बुझेको होला । त्यही भएर राष्ट्रिय हित र राष्ट्रिय एकतामा उहाँले कुनै कम्प्रोमाइज गर्नुभएको छैन र गर्नुहुन्न । एउटा नेतृत्व इमान्दार भएर देश विकासमा लाग्दा विकास सम्भव छ । तर त्यसमा पार्टीको पूर्णसाथ चाहिन्छ । अहिलेसम्म पार्टी र सरकारबीच समन्वयको अभाव जस्तो देखिएकोमा अव त्यो हटाउनुपर्छ ।
सम्पूर्ण नेपाली जनताको चाहनालाई नेकपा नेतृत्वले संवोधन गरेको छ । यस्तो परिपक्कताले निरन्तरता पाउनुपर्छ ।