नेपालगञ्जमा थप छ जनामा कोरोना संक्रमण पुष्टि, एकै दिन १५ जना संक्रमित भेटिएपछि त्रास

Mohan Bastola

काठमाडौँ । नेपालगञ्जमा एकै दिन १५ जनामा संक्रमणको पुष्टि भएको छ । तीनदिन पहिले भेटिएका ६० वर्षीय कोरोना भाइरस संक्रमितको सम्पर्कमा रहेका १५ जनाको संक्रमण पुष्टि भएको हो । मस्जिद र मदरसामा परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजान गर्ने ६० वर्षका व्यक्तिमा वैशाख १९ गते संक्रमणको पुष्टि भएको थियो । उनी वडा नम्बर ७ डीएसपी रोडका बासिन्दा हुन् ।

मुस्लिम समुदायको घरघरमा गएर बालबालिकालाई उर्दू भाषा र नमाज पढ्न सिकाउँथे उनी हरेक दिन वडा नम्बर ८ को महेन्द्रपार्क नजिकको अन्सारी मस्जिद पुग्थे । मस्जिदमा मौजिन रहेका उनको सम्पर्कमा रहेकाहरुको परिक्षण गर्दा यस्तो भेटिएको हो । साथै भारत आउजाउ गरिरहने उनी पछिल्लो पटक लकडाउन शुरु हुनुअघि भारतको नानपारालगायत ठाउँमा गएका थिए ।

संक्रमण पुष्टि भएकाले कन्ट्याक ट्रेसिङका क्रममा परिवारका सदस्य, आफन्त र महेन्द्र पार्कको मुस्लिम बस्तीका ९० जनाको थ्रोट स्वाब संकलन गरी भेरी अस्पतालस्थित पीसीसआर ल्याबमा परीक्षण गरिएको थियो । त्यसमध्ये ३० वटा नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको थियो । आइतबार साँझ नै थप ३० जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । आइतबार कोभिड–संक्रमण पुष्टि भएका मध्ये ८ पुरुष र ७ महिला छन् र, उनीहरु ७ देखि ६० वर्षसम्मका छन् ।