वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न सरकारको आह्वान

Mohan Bastola

काठमाडौँ । सरकारले वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान गरेको छ । मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेको हो ।

२५ गते वुद्धजयन्ती पनि परेको छ । त्यस दिन लुम्बिनीमा नेपालले अन्तर्राष्ट्रिय वौद्ध सम्मेलन पनि आयोजना गरेको थियो । तर कोरोना भाइरसको महामारीका कारण स्थगित भएको छ ।

वुद्ध जयन्तीको दिन परेकाले वुद्ध जयन्ती मनाउन र कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन दीप प्रज्वलनको आह्वान गरेको एक मन्त्रीले जानकारी दिनुभयो । बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव गरे पनि प्रधानमन्त्री त्यसमा सहमत नदेखिएको बुझिएको छ । बैठकमा सहभागी एक मन्त्रीका अनुसार समितिमा भएको छलफलका आधारमा प्रधानमन्त्री कार्यालयले प्रस्ताव बनाउने छ र भोलि ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल हुनेछ ।

बैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले कोरोना संक्रमण रोकथामका लागि अहिले लिएको बाटो ठिक भएको निष्कर्ष निकालेको बताउनुभयो ।