२ सय १२ सांसदसहित ४ सय ४१ जनाको कोरोना परीक्षण

Mohan Bastola

काठमाडौँ । बिहीबार २१२ जना सांसदसहित ४४१ जनाको कोरोना परीक्षण गरिएको छ । संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि सुरु भएको परीक्षणमा प्रतिनिधि सभातर्फका १७९ जना र राष्ट्रिय सभातर्फका ३३ जना सांसद सहभागी भए ।

प्रतिनिधि सभामा २ सय ७५ जना छन् । राष्ट्रिय सभामा हाल ५८ जना छन् । बिहीबार स्वाब संकलनमा छुटेका सांसदको भोलि बिहान साढे ८ बजेदेखि परीक्षण गरिने संसद सचिवालयले जानकारी दिएको छ ।

संकलित स्वाब परीक्षणका लागि टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । संघीय संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेका अनुसार बिहीबार संकलन गरिएका स्वाबको परीक्षण गरी शुक्रबार नतिजा आउने छ ।

शुक्रबार शुरु हुने संसदको बजेट अधिवेशनमा सबै सांसदहरुको कोरोना परीक्षणको रिपोर्ट हेरेर मात्रै वैठक कक्षमा प्रवेश गर्न दिइने छ ।रिपोर्ट शुक्रबार दिउँसोसम्म आउने जनाइएको छ । रिपोर्ट आएपछि मात्रै सांसदहरु बैठक कक्षमा प्रवेश गर्न पाउनेछन् । भोलिबाट संघीय संसदको वर्षे अधिवेशन सुरु हुँदैछ । दिउँसो ४ बजेलाई बैठक बोलाइएको छ ।