पुल टेस्टिङबाट कोरोना जाँच गरिँदै

maitrinews

 

काठमाडौँ । सरकारले कम किट खर्चेर बढी परीक्षण गर्न सकिने विधि पुल टेस्टिङबाट कोरोना भाइरस परीक्षण गर्ने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले पुल टेस्टिङबाट परीक्षण अघि बढाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई जिम्मा दिएको बताए।

प्रयोगशालाका निर्देशक डा। रुना झाका अनुसार अब क्वारेन्टाइनमा रहेका र लक्षण नदेखिएका व्यक्तिको उक्त विधिबाट परीक्षण हुनेछ।

विज्ञहरूका अनुसार पुल टेस्टिङ विधिबाट एउटा किटबाट ५ वा १० वटा नमूनाको परीक्षण गर्न सकिन्छ। एउटा ुपुलु १० वा ५ वटा नमूनाको बनाउन मिल्छ। एउटा पुलमा कतिवटा नमूना मिसाउने कुरा प्रयोगशालाले नै टुंगो गर्छ। १० भन्दा बढी गर्दा भने प्रभावकारिता कम हुने उनीहरूको भनाइ छ।

यो विधि अपनाउँदा यदि एक हजार वटा किट छ भने त्यसबाट बढीमा १० हजार नमूना परीक्षण गर्न सकिन्छ। यसरी परीक्षण गर्दा किट अभावको समस्या पनि हट्ने र परीक्षण दायरा पनि बढ्ने विज्ञहरू बताउँछन्।

पुल टेस्टिङमा सुरूमा १० जना व्यक्तिको छुट्टाछुट्टै नमूना संकलन गरिन्छ। त्यसपछि ती नमूनालाई एउटै भाँडोमा मिसाएर परीक्षण गरिन्छ। उक्त परीक्षणको नतिजा नेगेटिभ आए १० वटै नमूना नेगेटिभ भन्ने हुन्छ। यसरी १० वटा नमूनाको परीक्षण गर्न जम्मा एउटा किट खर्च हुन्छ।

तर नतिजा पोजेटिभ आयो भने फेरि प्रत्येक १० वटा नमूनालाई एक(एक गरेर परीक्षण गर्नुपर्छ। यसो गर्दा कुन पोजेटिभ कुन नेगेटिभ हो भन्ने छुट्टिन्छ। त्यसैले पुल टेस्टिङमा नेगेटिभ आएको नतिजा १० वटै नेगेटिभ भन्ने हुन्छ र पोजेटिभ आए प्रारम्भिक चरणमा दसवटै पोजेटिभ भन्ने हुन्छ।

पुल टेस्टिङको फाइदा भनेको नतिजा नेगेटिभ आए त्यसमा एउटा मात्र किट खर्च भएको हुन्छ र बाँकी ९ वटा किटले थप ९० जनाको परीक्षण गर्न मिल्छ।

प्रयोगशालामा काम गर्ने एक स्वास्थ्यकर्मी भने पुल टेस्टिङ गर्दा कम जोखिम भएका ठाउँ र लक्षण नभएका व्यक्तिमा गर्नुपर्ने बताउँछन्। अहिले नेपालगन्ज, वीरगन्ज र उदयपुरजस्तो उच्च जोखिमका ठाउँमा पुल टेस्टिङ प्रभावकारी नहुने उनको तर्क छ। पुल टेस्ट गर्दा नमूना पातलो हुने भएकाले संवेदनशीलता कम हुने उनी बताउँछन्।

ुसंक्रमित संख्या थोरै भएको र कम जोखिम ठाउँमा यो विधि प्रभावकारी बन्न सक्छ,ु उनले भने।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सुरूआती चरणमा क्वारेन्टाइनमा रहेका र लक्षण नदेखिएका व्यक्तिमा पुल टेस्टिङ गर्ने तयारी गरेको छ।

पछिल्लो समय किट अभावबाट परीक्षण सुस्त भइरहेको भन्दै विज्ञहरूले पुल टेस्टिङबाट परीक्षण अघि बढाउन सरकारलाई सुझाएका हुन्।

अघिल्लो साता मात्र किट अभाव हुँदा पाँच वटा प्रयोगशालामा कोरोना परीक्षण रोकिएको थियो। पुल टेस्टिङले यो समस्या निकै हल गर्ने विज्ञहरूको विश्वास छ।