लिपुलेकमा सडक निर्माणबारे दूतावासले पठायो जानकारी

maitrinews

 

नयाँदिल्ली । भारतको राजधानी दिल्लीस्थित नेपाली दूतावासले भारतले शुक्रबार नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने सडक निर्माण गरिरहेको विषयमा सरकारलाई जानकारी पठाएको छ ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फरेन्समार्फत पिथौरागढबाट–लिपुलेक सडक उद्घाटन गर्नुभएको थियो । सन् २००५ मा सैद्धान्तिक स्वीकृति पाएको यो सडक खण्डको औपचारिक काम सन् २००८ मा सुरु भएको हो । तर यसले गति लिएको थिएन । सन् २०१४ मा नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीको सरकार बनेपछि यो सडक निर्माण कार्यले तीव्रता पाएको थियो । शुक्रबार सडकको ट्र्याक खोल्ने काम सकिएको औपचारिक घोषणा गरिएको हो । यसलाई तीन वर्षभित्र कालोपत्र गर्ने लक्ष्य राखिएको छ ।
सरकारले शुक्रबार नै भारतले निर्माण गरेको सडकका सम्बन्धमा वास्तविक तथ्य बुझ्न दिल्लीस्थित दूतावासलाई भनेको थियो । दिल्लीस्थित दूतावासले शनिबार नै त्यससम्बन्धी विवरण परराष्ट्र मन्त्रालयलाई पठाइसकेको छ । जसमा परियोजना सुरुवातदेखि शुक्रबारको उद्घाटनसम्मको विवरण समेटिएको छ । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले मागेअनुसारको विवरण पठाइसकेको बताए पनि विस्तारमा खुलाउन चाहनुभएन। ‘विषय संवेदनशील छ, विस्तारमा भन्न मिल्दैन,’ उहाँले भन्नुभयो, ‘दूतावास र मन्त्रालयबीचको आन्तरिक विषय हो, यति बुझ्नुस् मन्त्रालयले मागेको विवरण पठाएका छौं ।’