नयाँ बजेट उच्च आर्थिक वृद्धिमा केन्द्रित हुने

maitrinews

 

काठमाडौँ । अर्थमन्त्री डा। युवराज खतिवडाले नयाँ बजेट स्थायित्वसहितको उच्च आर्थिक वृद्धिमा केन्द्रित हुने बताउनुभएको छ ।

संसदमा अर्थमन्त्री खतिवडाले आज आगामी आर्थिक वर्षको बजेटमा समावेश हुने प्राथमिकता तथा सिद्धान्तहरु प्रस्तुत गर्नुुभएको हो ।

कोभिड १९का कारण अर्थतन्त्र तहसनहस भएको बताउँदै उहाँले आगामी आर्थिक वर्ष भने उच्च आर्थिक वृद्धि हासिल गर्ने गरी बजेट ल्याउने बताउनुभयो। भूकम्पको समयपछि पनि नेपाल छिट्टै माथि उकासिएको र कोरोनापछि पनि सोही रुपमा अघि बढ्ने मन्त्री खतिवडाले बताउनुभयो।

नयाँ बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउँदै उहाँले कोरोना नियन्त्रणको लागि स्वास्थ्य सेवाको गुणस्तर तथा त्यसको पहुँच विस्तार गर्ने बताउनुभयो।

‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरआबद्धताको कारण नेपालमा अर्थतन्त्रका क्षेत्रहरु श्रम, पर्यटनमा धेरै ठूलो प्रभाव परेको छ’, उहाँले भन्नुभयो, ‘अन्य क्षेत्रहरु पनि प्रभावित रहेकोले त्यसलाई ध्यान दिई उक्त क्षेत्रलाई पुनरुत्थान गर्न बजेट कार्यक्रमहरु समावेश गरिनेछ।’

विकास निर्माणमा कोरोनाले पारेको असरलाई प्राथमिकता दिई बजेट कार्यक्रम समावेश हुने, नेपालमा द्रुत विकासको जनआकांक्षा रहेकोले त्यसलाई ध्यान दिई नयाँ कार्यक्रम ल्याउने उहाँले संसदलाई जानकारी दिनुुभयो।

उहाँका अनुसार भूमिहीन किसानलाई भूमिमा पहुँच दिने, कोरोनाले रोजगारी गुमाएकालाई र विदेशबाट फर्केकालाई स्वदेशमा नै रोजगारी दिने कार्यक्रम आगामी आर्थिक वर्षमा सञ्चालनमा आउनेछ।