साउदीमा कोरोनाबाट एक नेपालीको मृत्यु

maitrinews

 

साउदी अरब । साउदी अरबको जेद्दामा कोरोना संक्रमित एक नेपालीको मृत्यु भएको छ । जेद्दास्थित महावाणिज्य दूतावासका अनुसार मदिनामा कार्यरत एक नेपालीको उपचारको क्रममा ज्यान गएको हो ।

जेद्दा क्षेत्रभित्र मात्रै संक्रमित नेपालीको संख्या ४५ पुगेको छ । १० जना निको भइ क्याम्पमा फर्केका छन् ।

‘उपचारमा रहेका नेपाली नागरिकहरुमध्ये मदिनामा उपचाररत एक जनाको निधन भएको दुस्खद् खबरले हामी स्तब्ध भएका छौं’, दूतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘दुस्खको यस क्षणमा कन्सुलेट परिवार मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।’

दूतावासले कोरोना संक्रमण रोकथाम र उपचारका लागि विश्व स्वास्थ्य सङ्गठन लगायत साउदी सरकारले चालेका कदमलाई पूर्ण पालना गरी संयमित र सुरक्षित रहन सबै नेपालीलाई अनुरोध गरेको छ ।

दूतावासले कोरोना संक्रमणको लक्षण देखिँदा पनि कम्पनीले बेवास्ता गरी स्वास्थ्य उपचार नगराइ छुट्टै आइसोलेसनमा बस्‍न बाध्य पारेमा जानकारी दिन अनुरोध गरेको छ । ‘कम्पनीले तोकेको क्वारेन्टाइनमा बस्दा खानाको प्रबन्ध नगरेमा तथा स्वास्थ्य अवस्था बिग्रदै जाँदा पनि थप स्वास्थ्य जाँच गराउन कम्पनीले पहल नगरेको अवस्थामा तुरुन्त यस कन्सुलेटमा सम्पर्क गर्नुहुन अनुरोध छ ’, कार्यबाहक महावाणिज्यदूत रेवती पौडेलले भन्नुभयो।