काठमाडौँ कोरोना भाइरसको उच्च जोखिममा

 

काठमाडौँ । सरकारले सीमित कर्मचारीहरूको भरमा विभिन्न कार्यालयहरू चलाउन पाइने निर्णय गर्दै त्यसका लागि सवारी आवागमनको अनुमति दियो। लकडाउन केही खुकुलो पारेर केही सवारीसाधन सञ्चालन गर्न दिइएको पहिलो दिन आइतवार सडकमा आवागमन अचानक बाक्लियो।
ट्राफिक प्रहरी अधिकारीहरूका अनुसार कम प्राथमिकताका कामका लागि पनि मानिसहरू बाहिर निस्किन थालेका छन्।

के काठमाडौँ उपत्यका जोखिमबाट मुक्त भएको हो त ? देशका विभिन्न स्थानमा कोभिड १९ भएका व्यक्ति पत्ता लागिरहेको बेला काठमाडौँ सुरक्षित नभएको विज्ञहरूको भनाइ छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार काठमाडौँ उपत्यका उच्च जोखिमको सूचीमा छ।

सरकारले आन्तरिक रूपमा रेड , येलो र ग्रीन गरी तीन किसिमको क्षेत्रमा वर्गीकरण गरेको छ।

श्रेष्ठका अनुसार काठमाडौँ अहिले पनि रेड जोनमा छ।

जनसङ्ख्याको अनुपातमा काठमाडौँ उपत्यकामा सङ्क्रमण निकै कममा देखिएको छ।
तर मानिसहरूको आवागमन बाक्लो भएको र मानिसहरू लुकीछिपी धेरै भित्रिएकालेउपत्यकालाई उच्च जोखिममा राखिएको महानिर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।