कोरोनाका कारण यार्सागुम्बा टिप्न बन्देज, करोडौँको क्षति

maitrinews

 

कर्णाली । कोरोना भाइरस सङ्क्रमणका कारण यस वर्ष यार्सागुम्बा सङ्कलन प्रभावित भएको छ । बन्दाबन्दीका कारण यार्सा सङ्कलन कार्यलाई बन्देज लगाइएको छ । यसबाट सरकारले करोडौँ रुपियाँ बराबरको राजस्व गुमाउनुपर्ने देखिएको छ ।
हुम्लाका बासिन्दा यसपटक यार्सा टिप्न जान पाएनन् । बझाङ र डोल्पाका पाटनमा यार्सा टिप्न जाने गर्दथे । नाम्खा गाउँपालिका–१ का उत्तम लामाले बझाङ जाने तयारी गरे पनि स्थानीय सरकारले यार्सा सङ्कलन कार्य बन्द गरेको सूचना पाएपछि जान नपाएको गुनासो गर्नुभयो ।
हुम्लाका युवाले बर्सेनि सरदर पाँचदेखि २० केजीसम्म यार्सा सङ्कलन गर्ने गरेको यार्सा व्यापारी टेकबहादुर लामाले बताउनुभयो ।
उहाँका अनुसार हुम्लाका युवाले मात्र कम्तीमा तीन करोड रुपियाँ बराबरको नोक्सानी व्यहोर्नु परेको छ ।
यार्सा टिप्न रोक लगाइएपछि कर्णालीका पाटन खाली देखिएका छन् । जुम्लाको चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका, गुठिचौर गाउँपालिका लगायत स्थानका बासिन्दाहरू घरमा ताल्चा लगाएर सपरिवार यार्सा टिप्न पाटन जान्थे । गुठिचौर गाउँपालिका–३ का लिबहादुर बुढाले कुनै पनि व्यक्तिले बर्सेनि कम्तीमा ५० हजारदेखि एक लाख रुपियाँसम्म कमाउने गरेकोमा यो वर्ष रोकिएको बताउनुभयो । जुम्लाको साना हाँका, ठूला हाँकाका साथै डोल्पाको कागमारा र घनसा पाटनमा जुम्ला, डोल्पा, जाजरकोट, दैलेख, कालीकोट, रुकुमका हजारौँ मानिस यार्सा टिप्न जान्थे ।
यार्सा सङ्कलन गर्न जान नपाउँदा यहाँका स्थानीयहरू निराश भएका छन् । जाजरकोटबाट हरेक वर्ष सरदर २० हजार व्यक्ति यार्सागुम्बा टिप्नका लागि डोल्पा लगायतका जिल्लामा जाने गरेका थिए ।
नलगाड नगरपालिका–१३ का तेजबहादुर विक आफूहरूका लागि यार्सा नै मुख्य आम्दानी रहेको तर बन्दाबन्दीले गर्दा जान नपाउँदा यस वर्ष आर्थिक समस्या भोग्नुपर्ने गुनासो गर्नुभयो ।
बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले यसबेला विद्यालय बन्द गरेर शिक्षक तथा विद्यार्थीसमेत यार्सा सङ्कलन गर्न जाने गरेकोमा रोक लगाइँदा ठूलो आार्थिक घाटा व्यहोर्नुपरेको बताउनुभयो । यार्सा टिप्न जाने व्यक्तिले तीन लाख रुपियाँसम्म कमाइ गरेर ल्याउने गरेका थिए । नलडाड नगरपालिकाका प्रमुख टेकबहादुर रावल तीन महिनामा यार्सा टिपेर ल्याएको कमाइबाट वर्षभरिको समस्या टार्ने गरेका यहाँका स्थानीयहरू सल्यानको दार्मा गाउँपालिका, कुमाख गाउँपालिका, वनगाडकुपिण्डे नगरपालिका र वागचौर नगरपालिकाका स्थानीयहरू यार्सा सङ्कलनका लागि डोल्पा र रुकुम पूर्वका लेकमा जाने गरे पनि यस वर्ष कोही गएका छैनन् ।