सशस्त्रको टोली दार्चुला प्रस्थान, छाङरुमा सीमा निगरानी चौकी स्थापना

maitrinews

 

काठमाडौं । दार्चुलाको लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली बुधबार बिहान त्यसतर्फ प्रस्थान गरेको छ।

दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी बीओपी स्थापनाका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमा सशस्त्रको टोली त्यसतर्फ गएको हो। सेनाको एमआई–१७ हेलिकोप्टर सशस्त्रको टोली दार्चुला प्रस्थान गरेको छ।

सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी खटाइने जनाइएको छ। सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टका अनुसार प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोली त्यसतर्फ गएको छ।

नेपाली भूमिमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरेपछि नेपालमा व्यापक विरोध भएको छ। सरकारले अतिक्रमित क्षेत्रको सीमा सुरक्षाका सशस्त्र प्रहरी चौकी स्थापना गर्न लागेको हो।