राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने

 

काठमाडौँ । सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम आज पेस हुँदैछ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेस गर्नुहुनेछ । संसद्को संयुक्त बैठक अपराह्न ४ बजे बस्ने छ ।
नीति तथा कार्यक्रम पेस गर्न संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा गरिसकेको छ । कोरोना जोखिमका कारण भौतिक दूरी कायम राखेर सञ्चालित भइरहेको बैठकमा अधिकतम सुरक्षा विधि अपनाइएको सचिवालयको भनाइ छ । राष्ट्रपतिको आवागमनका लागि कुनै विशेष प्रबन्ध गरिएको छैन ।
सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेले कोरोना जोखिमबीच हामीले अधिकतम सुरक्षात्मक विधि अपनाएर बैठक सञ्चालन गर्नुपर्ने हुन्छ । दुवै सदनमा सम्बोधन भएपछि दुवै सदनका फरक–फरक बैठक बसेर धन्यवादको प्रस्ताव टेबल हुन्छ भन्नुभयो ।
सरकारले नीति तथा कार्यक्रममा कोरोना सङ्क्रमणले पारेको बहुपक्षीय असरलाई केन्द्रित गर्ने बुझिएको छ । नीति कार्यक्रम मन्त्रिपरिषद्बाट अनुमोदन भइसकेको छैन । कोरोना जोखिमबाट परेको बहुपक्षीय असरमा नै कार्यक्रम केन्द्रित हुने जनाइएको छ । नीति तथा कार्यक्रम अनुसार सरकारले वार्षिक बजेट पेस गर्नेछ ।
सरकारले कोरोना जोखिमसँगै स्वास्थ्य, शिक्षा, रोजगारी सिर्जनाका कार्यक्रमलाई मुख्य रूपमा नीति कार्यक्रममा अघि सार्ने तयारी गरेको छ । हाल कार्यान्वयनमा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई केही परिमार्जन गर्ने तयारी पनि सरकारको छ । रोजगारी सिर्जना गर्न कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने र आधुनिकीकरण गर्ने नीति लिने सरकारको तयारी छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कृषि, सिँचाइ जस्ता क्षेत्रसँग पनि जोडेर रोजगारी सिर्जना गर्ने सरकारको तयारी छ । हाल विभिन्न श्रम गन्तव्यमा रहेका नागरिकसमेत फर्कने अवस्थामा रहेकाले सरकारले रोजगारीलाई प्राथमिकतामा राखेको छ ।