नेपाली भूमि व्यासका गोठमा भारतीय सैनिक क्याम्प

maitrinews

 

दार्चुला । व्यासका छाङरु र तिंकर गाउँका बासिन्दाले २०१८ सालअघिसम्म तिल्सी ९कालापानी० पडाव ९स्टेसन० मा भेडीगोठ राख्ने गरेका थिए । ती ठाउँमा अहिले भारतीय सुरक्षाफौज छ । स्थानीय बासिन्दा गाउँँबाट तिल्सी पडावमा एक बास बसेर दोस्रो दिन ताक्लाकोट पुग्थे ।

‘व्यापारबाहेकको समयमा भेडाबाख्रा र चौंरी झुप्पु तिल्सी क्षेत्रमै चरनका लागि लैजाने गथ्र्यौं,’ छाङरुका भजनसिंह ऐतवालले बताउनुभयो । व्यासका बुढापाका अहिलेको कालापानीलाई तिल्सी भन्छन् । त्यस ठाउँको नाम भारतीय सैनिक बसेपछि मात्रै कालापानी रहेको उनीहरूको भनाइ छ । ‘तिल्सी पडाव क्षेत्रलाई २०१८ सालपछि कालापानी भनिँदै आयो,’ ऐतवालले भन्नुभयो ।

तिंकरका ९० वर्षीय शोभानसिंह तिंकरीका अनुसार कालापानीको तल्लो भागलाई पाङ्खा, तिल्सी पडाव ९कालापानी० क्षेत्रलाई यार्का, किर्मङकाङ, डोङकाङ, स्याङच्याम हुँदै लिपु भन्ने गरिन्थ्यो । किर्मङकाङ र स्याङच्याममा पत्थर ९स्लेट० ले छाना लगाइएका धर्मशाला छन् । ती धर्मशालामा हुम्लाबाट लामा आएर बस्थे । अहिले पनि भग्नावशेष भेट्न सकिन्छ ।

वैशाखमा बेंसीबाट कुन्चा सरेपछि तलबाट लगेको सामान ताक्लाकोट बजार पुर्‍याएर भेडाबाख्रालगायतका पशुबस्तु कोहीले कालापानी क्षेत्रमै छोडिदिन्थे । ७र८ दिनको अन्तरमा गाईबस्तु हेरेर आउने र कोही तिल्सी पडावमै केही महिना बस्ने गर्थे । व्यासी सौका समुदायको मुख्य चरन क्षेत्र कौवा र तिल्सी थिए ।

२०१८ सालमा ताक्लाकोट बजारबाट गाउँ फर्किंदा आफू र सँगै रहेका साथीलाई कालापानीमा रहेका पीएससी ९अर्धसैनिक बल० का जवानले उतै फिर्ता पठाएको तिंकरीले बताउनुभयो । ‘तिल्सीमा हातमा डन्डा र टाउकोमा रातो टोपी लगाएका मानिसले हामीलाई ताक्लाकोटतिरै फर्काएका थिए,’ उहाँले भन्नुभयो । पछि गाउँ फर्केपछि मात्रै कालापानीमा भारतीय सैनिक बसेको थाहा पाएको उहाँको भनाइ थियो ।
तिल्सी क्षेत्रमा भारतीय सैनिकले क्याम्प राखेपछि आफूहरूले भेडाबाख्रा चराउन छाडेको र कालापानी–लिपुलेक नाकाबाट ताक्लाकोट बजार जान नपाएको तिंकरीले बताउनुभयो । ‘भारत–चीन युद्धअघि नै कालापानी क्षेत्र भारतकै नियन्त्रणमा रहेकाले सन् १९६२ मा भारत र चीनको व्यापार बन्द भएको थियो,’ उहाँले भन्नुभयो ।

तिंकरीका अनुसार भारतीय सुरक्षाकर्मीले अवरोध गरेपछि स्थानीय बासिन्दाले तिंकर भन्ज्याङ हुँदै ताक्लाकोट व्यापार गर्न थालेका हुन् । पहिल्यैदेखि चीनसँगको व्यापार तिंकर भन्ज्याङबाट हुँदै आए पनि तिंकर र छाङरुका बासिन्दालाई लिपुलेकबाट सजिलो हुन्थ्यो । ‘तिल्सी क्षेत्रमा भारतीय सैनिकले परेड खेल्न थालेपछि व्यासीहरूले मल्लो कौवा र तल्लो कौवा क्षेत्रमा भेडाबाख्रा, घोडा, खच्चर, चौंरीलगायतका गाईबस्तु चराउन थाले,’ ऐतवालले भन्नुभयो ।
ऐतवालका अनुसार पञ्चायतकालमा कौवा क्षेत्रसम्म नेपाल प्रहरीको उपस्थिति थियो । बहुदल आएपछि कौवामा प्रहरी बस्न छाडेपछि चरन क्षेत्र खुम्चिंदै गयो । सशस्त्र द्वन्द्व सुरु भएयता व्यासमा सुरक्षाकर्मी जानै छाडेपछि भारतीय सैनिकले कौवाभन्दा माथिको नेपाली भूमि पनि नियन्त्रणमा लियो । उक्त क्षेत्रमा अहिले गाईबस्तु चराउन छाडिएको छ । ‘अहिले सीतापुलभन्दा माथिल्लो कौवातिर जाँदा भारतीय सुरक्षाकर्मीले निगरानी बढाउने हुँदा डरले कोही जाँदैनन्,’ ऐतवालले भन्नुभयो।

तिंकरीका अनुसार महाकालीको मुहान कुटीको माथिल्लो भाग लिम्पियाधुरा नजिकको ल्याङप्याङ फेदबाट निस्कन्छ । स्थानीय सौका समुदायले आफ्नो भाषामा महाकालीलाई कुटी याङ्ती भन्छन् । लिम्पियाधुराको काखमा कालापानी पर्छ, यही ठाउँमा काली देवीको मन्दिर छ । भारतले तिल्सीमा सैनिक बसालेर सानो खोल्सोबाट निस्केको तुरतुरे पानी जम्मा गरेर तलाउ बनाएको छ । तलाउभित्र कालो ढुंगा बिछ्याइएकाले पानी कालो देखिन्छ । भारतले त्यसैलाई काली ९महाकाली० को मुहान भन्दै आएको छ । त्यही छेउमा काली देवीको मन्दिर निर्माण गरेर पूजा गर्ने गरेको र लिपु भन्ज्याङबाट आउने लिपुखोलामा मिसाएको ऐतवालको भनाइ छ ।

‘गुन्जी दोभानको उत्तर–पश्चिमबाट आएको ठूलो नदीसँग उत्तर–पूर्वबाट आएको सानो खोला मिसिएको छ । जुन उत्तर–पश्चिमबाट आउनेभन्दा धेरै सानो छ,’ उहाँले भन्नुभयो, ‘त्यसलाई नै भारतले महाकाली नदी भन्दै आएको छ ।’

गाउँका बुढापाकाका अनुसार सन् १९६० को दशकअघि गुन्जी, नाबी र कुटीको बाटो हुँदै त्यस उत्तरको डाबै मैदान ९खरकौं० बाट लिम्पियाधुरा पार गरेर स्थानीय बासिन्दा ताक्लाकोट जान्थे । त्रिदेशीय सीमा क्षेत्र व्यास पहिल्यैदेखि राज्यको उपेक्षाका कारण भारतले अतिक्रमण गरी सैनिक इलाका बनाइसकेको छ । पछिल्लो समय भारतले नेपाली भूमि गुन्जी, कालापानी हुँदै लिपुलेकबाट ताक्लाकोट जोड्ने मानसरोवर धार्मिक सडकको ट्रयाक उद्घाटन गरेको छ । दार्चुला बहुमुखी क्याम्पसका प्राध्यापक विष्णुदत्त जोशीले भन्नुभयो, ‘भारतले व्यास क्षेत्रलाई तीन कुराले रणनीतिक हिसाबले हेरेको छ । पहिलो, चीनसितको सैन्य रणनीति, दोस्रो व्यापार र तेस्रो धार्मिक महत्त्व । लिपुलेकबाट नाका सञ्चालन भए आफूलाई व्यापार विस्तार तथा धार्मिक पर्यटक विकासबाट राम्रो आम्दानी हुने भएकाले चीन सहमत भएको हुन सक्छ ।’

अतिक्रमित क्षेत्रमा परेका नेपालीको बसोबास रहेका गाउँ नाबी, गुन्जी र कुटीका बासिन्दालाई त्यतिबेलादेखि नै भारत सरकारबाट सामाजिक, आर्थिक समृद्धिका कार्यक्रम लागू गरेर विभिन्न सुविधा तथा आरक्षण दिइएको छ । नेपालतर्फ त्यहाँ पुग्ने बाटोसमेत छैन । स्थानीयले व्यास जान र आउन भारतीय बाटो प्रयोग गर्नुपर्छ । स्थानीयस्तरमा उत्पादन नहुने हुँदा खान र स्वास्थ्य उपचारका लागि भारतकै भर पर्नुपरेको छ ।

नेपालतर्फका बासिन्दा महँगी, अभाव र गरिबीको चपेटामा परेर कष्टपूर्ण जीवन जिउँदै आएका दार्चुलाका मदन गिरीले बताए । लामो समयदेखि राज्यको उपस्थिति नहुँदा व्यासकै करिब चार सय वर्ग किलोमिटर भूभाग भारतीय सैनिकको नियन्त्रणमा छ । व्यास क्षेत्रमा भारतले आधा दर्जन सैनिक टुकडी राखेको छ । भारतले व्यास क्षेत्रलाई लक्ष्य गरी गुन्जी कालापानीमा ठूलो सैनिक ब्यारेक राखेको छ । गुन्जीमा ठूलो हेलिप्याड, बैंक शाखा खोलिएको छ । अस्पताल र जुनियर हाईस्कुल गुन्जीमै राखेको व्यासका दानसिंह तिंकरीले बताउनुभयो । ‘मेरो गाउँँका सबैले पहिले गुन्जी स्कुलमै पढेका हुन्,’ उहाँले भन्नुभयो, ‘मैले पनि ८ कक्षासम्म गुन्जीमै पढेको हो ।’