६ संक्रमित भेटिएपछि चन्द्रागिरी नगरपालिका ४ दिनका लागि सिल

maitrinews

 

काठमाडौं । ६ जना कोरोना संक्रमित फेला परेपछि काठमाडौंको चन्द्रागिरी नगरपालिका चार दिनका लागि सिल गरिएको छ।

आज शनिबार मध्याह्न १२ बजेदेखि जेठ ७ गते बिहान ६ बजेसम्मका लागि नगरपालिका क्षेत्रलाई सिल गरिएको हो।

नगरप्रमुख धनश्याम गिरीले ३ जेठ दिउँसोदेखि ७ जेठ बिहानसम्म नगर क्षेत्र सिल गरिएको जानकारी दिए। स्थानीयलाई घर बाहिर हिँडडुल गर्न रोक लगाइएको छ।

‘अत्यावश्यक कामले हिँडडुल गर्नुपरेमा सामाजिक दूरी कायम गरी माक्स र पञ्जा लगाएर मात्र हिँड्न भनेका छौँ,’ मेयर गिरीले भने, ‘नगर क्षेत्र भित्रका औषधी पसलबाहेक अन्य पसल र विकास निर्माणका काममा पनि रोक लगाइएको छ।’

चन्द्रागिरी नगरपालिका क्षेत्रको मच्छेगाउँ, दहचोक, बलम्बु, सर्तुगलमा एक एक र दुई जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमित हुनेमा दुई जना सात सात वर्षीय बालक छन्। उनीहरु सतुंगल र दहचोकका हुन्।

चन्द्रागिरिका ३२ वर्षीय पुरुष र ३३ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।