क्वारेन्टाइनमा युवकको मृत्युपछि नरैनापुरमा तनाव

maitrinews

 

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक युवकको आइतबार बिहान मृत्यु भएपछि सो क्षेत्रमा तनाव उत्पन्न भएको छ । भारतको मुम्बईबाट गत वैशाख ३० गते आएर क्वारेन्टाइनमा बसिरहेका युवकको मृत्युपछि स्थानीयले उपचार नपाउँदा उनको मृत्यु भएको भन्दै विरोध गरेका छन् ।

नरैनापुर गाउँपालिकाको वडा नम्बर ५ दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका ती २४ बर्षीय युवकको वान्ता लागेर बेहोस भएपछि आइतबार बिहान मृत्यु भएको वडा नम्बर ५ का अध्यक्ष कृष्णचन्द्र मौर्यले बताउनुभयो ।

उनलाई बान्ता भएको र समयमा उपचार गर्न नलगिएको कारण मृत्यु भएको क्वारेन्टाइनमा बसेका अन्यले जानकारी गराएको उहाँले बताउनुभयो । नरैनापुरमा दुई दिनअघि भेटिएका ८ जना सङ्क्रमितको सम्पर्कमा आएका ती युवकको शनिबार दिउँसो स्वाब सङ्कलन गरिएको थियो । तर, सो स्वाबको परीक्षण रिपोर्ट नआउँदै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।

समयमा उपचार नपाएर युवकको मृत्यु भएको भन्दै स्थानीयले विरोध शुरु गरेपछि नरैनापुरको अवस्था तनावपूर्ण भएको हो । मृत्यु भएका ती युवक शनिबार दिउँसोबाटै बिरामी रहेको भएपनि उनलाई उपचारका लागि नेपालगञ्ज लैजान नसकिएको कारण मृत्यु भएको आरोप स्थानीय बासिन्दाले लगाएको वडा अध्यक्ष मौर्यले बताउनुभयो ।

स्थानीय एम्बुलेन्सलाई खबर गरेपनि व्यक्तिगत सुरक्षा सामाग्री ९पीपीइ० उपलब्ध नभएका कारण एम्बुलेन्स चालकले उपचारका लागि नेपालगञ्ज ल्याउन नमानेको स्थानीयको भनाई छ । युवकको मृत्युपछि नरैनापुर क्षेत्रमा तनाव र आक्रोश बढ्दै गएकोले जिल्ला सदरमुकामबाट सेना पठाउन माग गरेको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनु भएको छ । उहाँले आफूले सम्झाईबुझाई गरेर साम्य पारिरहेको बताउनुभयो ।