आवत–जावतलाई कडाई गर्ने नाममा अराजक झुण्डहरुको दादागिरी, एक्सन लिदैँ गृह

Mohan Bastola

काठमाडौँ । बाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीले शुक्रबार काठमाडौं आउने क्रममा नागढुंगामा दुर्व्यवहारको सामना गर्नुपर्र्यो । वागमती प्रदेशको जनस्वास्थ्य प्रयोगशाला निर्देशक टेस्ट किट्स सकिन लागेपछि टेस्ट किट्स लिन काठमाडौं आउने क्रममा नागढुंगामा टोले गुण्डाबाट दुव्र्यवहार भएपछि हेटौँडा नै फर्किनुभयो ।

उहाँले दुुव्र्यवहार भोगेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उहाँमाथि दुव्र्यवहार गर्ने व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । यो एउटा उदाहरण मात्रै हो । अहिले उपत्यकामा कडाई गर्ने र टोल–टोलमा उपत्यका बाहिरबाट कसैलाई पनि प्रवेश नदिने नाममा टोले गुण्डा, लह लहमै लाग्ने यूवाहरु, विभिन्न सरकार विरोधी पार्टीका कार्यकर्ताहरुबाट हुने गरेका यस्ता दुव्र्यवहारका घटनाहरु दिन–प्रतिदिन बढ्न थालेका छन् । यस्तो हर्कत बढ्न थालेपछि गृहमन्त्रालयले समेत यस्ता हर्कत रोक्न कडाई गर्ने भएको छ । त्यति मात्र होइन अहिले टोल–टोलमा सुरक्षाका नाममा राजावादीलगायतका दलका झुण्डहरुले समेत अनावश्यक दुःख दिन थालेपछि जनप्रतिनिधि समेत हैरान भएका छन् । स्थानीय संघ–संस्थाले समेत त्यस्तो हर्कतको खुलेरै विरोध गर्न थालेका छन् ।

केही स्थानीय जनप्रतिनिधिका अनुसार यस्ता हर्कत नरोकिने हो भने अराजक तत्वले उपत्यका भित्रिन नदिने बाहनामा अराजक गतिविधि गर्ने र त्यसको गलत प्रभाव पर्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो । ‘उपत्यका प्रवेशमा कडाई गर्ने, आफ्नो टोलमा अपरिचित र कोरोना संक्रमिति जिल्ला वा देशबाट आएका नागरिकलाई कडिकडाउ गर्ने कुरा सकारात्मक हो,’ उहाँहरुले भन्नुभयो, ‘तर, अहिले जुन ढंगले अराजक भिडले विभिन्न खाले हर्कत गरेका छन् यो सकारात्मक होइन । यसलाई राज्यले निगरानी गर्नुपर्छ र त्यस्ता अराजक झुण्डहरुलाई कारवाही गर्नुपर्छ ।’