अतिक्रमित भूमि फिर्ता ल्याइछाड्ने प्रधानमन्त्रीको प्रतिवद्धता

Mohan Bastola

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता ल्याइछाड्ने बताउनु भएको छ । संघीय संसदका दुबै सदनको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अतिक्रमित भूमि समेटेर मन्त्रिपरिषदले नयाँ नक्सा पारित गरिसकेको र केही दिनमा जारी हुने बताए। ‘अब लिम्पियाधुरा, कालापानी, लिपुलेकका विषय सेलाउन दिइने छैन, भूमि फिर्ता लिने अठोटका साथ यो अगाडि बढाइनेछ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

नेपालका भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा वि.सं.२०१८ सालसम्म जनगणना भएको र त्यहाँ बस्नेले नेपाल सरकारलाई तिरो तिर्ने काम भइरहे पनि त्यसपछि त्यहाँ जान रोकिएको बताउनु भयो। सन् १९६२ मा कालापानीमा भारतीय सेना बसेपछि त्यसभन्दा पश्चिम जान रोकिएको बताउनुभयो । ‘हाम्रो भूमि बेकारको अकुपाइँ गरेर आफ्नो बनाएको छ,’ उहाँले भन्नुभयो, ‘यो विषय सेलाउन दिइने छैन। कूटनीतिक पहलबाट फिर्ता ल्याइनेछ।’