शक्तिशाली अम्पुन आँधीका कारण भारत र बंगलादेशमा ठूलो हावाहुरी र वर्षा

maitrinews

 

भारत । बंगालको खाडीमा विकसित अम्पुन नामको शक्तिशाली समुद्री आँधी चक्रवातका कारण अहिले पूर्वी भारत र बंगलादेशमा ठूलो हावाहुरीसहित वर्षा भइरहेको छ।

भारतीय मौसमविद्का अनुसार अब केही घण्टामा भारत र बंगलादेशबीचको तटीय क्षेत्रको जमिनमा त्यो चक्रवात ठोक्किनेवाला छ।

चक्रवात आउने सम्भावित क्षेत्रमा दुवै देशले लाखौं मानिसलाई सारिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अम्पुन अहिले दिउँसोदेखि साँझसम्ममा जमिनमा बज्रिने भारतको मौसम विभागले जनाएको छ।

यसै पनि कोरोना भाइरसको महामारीका कारण सास्ती पाइरहेका बेला यो समुद्री आँधीले भारत र बंगलादेशमा ठूलो विपद् निम्त्याएको छ।

अम्पुन दशकयताकै सबैभन्दा ठूलो चक्रवात भएको भारतीय मौसमविद्ले बताएका छन्। यो प्रतिघण्टा १८५ किलोमिटर वेगमा यसले समुद्रको तटीय क्षेत्रमा प्रहार गर्ने मौमसविद्को अनुमान छ।