भारतबाट पाँच हजार नेपाली भित्रिए

maitrinews

 

धनगढी । एकै दिन नेपालगन्ज नाकाबाट तीन हजार र धनगढीमा दुई हजारले प्रवेश पाए, स्वास्थ्य जाँचविनै भित्र्याइँदा कोरोना संक्रमणको जोखिम बढ्यो ।

लकडाउनकै समयमा भारतबाट फर्कने नेपालीको सीमानाका भिड लागेको छ । झन्डै दुई महिनादेखि दुई देशबीचको नाका सिल भए पनि नेपाल फर्कने र भारत फर्कने सीमानाकामा जम्मा भएका छन् । भारतका विभिन्न सहरबाट सीमानाकामा आएकामध्ये बुधबार नेपालगन्ज नाकाबाट तीन हजार बढी र भारतको गौरीफन्टा नाकाबाट कैलालीमा दुई हजार बढी भित्रिएका छन् । स्वास्थ्य जाँचविनै उनीहरूलाई प्रवेश गराउँदा कोरोना संक्रमणको जोखिम बढेको छ ।

नेपाल–भारत नाका सिल गरे पनि नेपालगन्ज नाकाबाट एकै दिन झन्डै तीन हजार नेपाली प्रवेश गरेका छन् । लकडाउन र सीमानाका सिल भएकै अवस्थामा भारतका विभिन्न ठाउँबाट आएका नेपालीलाई जिल्ला प्रशासन, बाँकेको अनुमतिमा नेपाल प्रवेश गराइएको हो । नेपालगन्ज नाकाबाट बिहीबार राति दुई हजार नौ सय १३ जना भित्रिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । सीमा सिल र लकडाउनबीच एक हप्ताअघि नेपालगन्ज नाकाबाट सात सय ६६ जना नेपाली भित्रिएका थिए । नेपाली भित्र्याउने र भारतीयलाई आफ्नो देश पठाउने काम सँगसँगै भइरहेको उनले बताए । उपाध्यायका अनुसार बिहीबार राति तीन हजार एक सय ५८ जना भारतीय स्वदेश फर्किएका छन् ।