उपत्यकामा भएको जनशक्तिबाटै अर्थतन्त्र चलायमान बनाऔँः मेयर शाक्य

Mohan Bastola

काठमाडौँ । सोमबार उपत्यकामा थप तीन जनामा संक्रमण पुष्टि भएसँगै काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले थप सजग हुनुपर्ने बताउनु भएको छ ।
‘हामीले लकडाउन अवधी सुरु भएदेखि नै उपत्यकाको आवत–जावतलाई कडाई गर्न र उपत्यका सील गर्न संघीय सरकारलाई आग्रह गर्दै आएका थियौँ,’ उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका प्रमुख शाक्यले भन्नुभयो, ‘तर, समयमै सजगता अपनाउन नसक्दा र उपत्यका प्रवेशमा निर्वाध आवत–जावत नरोकिदाँ समस्या भयो । सरकारले समयमै लकडाउन गरेर राम्रो काम गरेको थियो । यद्यपि त्यसको पूर्ण कार्यान्वय हुन नसक्दा र उपत्यका प्रवेशमा कडाई नहुँदा शान्त तलाउमा ढुंगा हाने जस्तो भयो ।’

उहाँले उपत्यकावासी दुई महिना बढी समयदेखि लकडाउनको पूर्ण पालना गरेर बसेका भए पनि केहीले पहुँचका आधारमा र लुकिछिपी लकडाउनको अवज्ञा गर्दै उपत्यका प्रवेश गर्नेहरुका कारण संक्रमितको संख्या बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । अझै पनि राज्यले सजगता नअपनाउने हो र सञ्चारमाध्ययमको भूमिका प्रभावकारी नहुने हो भने भयावह अवस्था आउन सक्ने भन्दै सबै नागरिकलाई सचेत हुन आग्रह गर्नुभयो ।

उपत्यकाका जनप्रतिनिधिको आग्रहलाई मध्यनजर गर्दै गृहमन्त्रालयले केही दिन अघि मात्रै उपत्यका प्रवेशमा कडाई गर्न जारी गरेको परिपत्रको स्वागत गर्दै शाक्यले भन्नुभयो– ‘गृहले काठमाडौँ उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्णरुपमा सील गर्न आग्रह गरेको छ । गृहले परिपत्रमा लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण रुपमा रोक्न आग्रह गरेको छ । यो सकारात्मक छ ।’

उहाँले उपत्यकाका सबै सुरक्षा निकायले स्थानीय तहसँग समन्वय गरेर उपत्यका प्रवेश नाकाको चेकचाँच र निगरानीमा थप कडाई गर्नुको विकल्प नभएको पनि बताउनुभयो । ‘पहिला पनि निर्णय कार्यान्वयन नहुँदा समस्या भयो अब त्यस्तो समस्या दोहोरिनु हुन्न,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि गृह प्रशासनले कडाईका साथ कदम चाल्नुपर्छ । हामी समन्वय गर्न तयार छौँ ।’  उहाँले उपत्यका प्रवेश विन्दुमा आइपुग्ने सवारी साधनहरु प्रवेश विन्दुमा पुग्नु पूर्व नै सुरु प्रस्थान जिल्लामै सुरक्षा निकायले विशेष निगरानीका साथ रोक्न र आगमन कडाइका साथ लागु गर्न आग्रह गर्नुभयो ।

कोराना अघि–अघि, राज्य पछि–पछि नहोस्

प्रमुख शाक्यले पछिल्लो समय आरडीटी र पीसीआर परीक्षण गर्नेको होडबाजी चलेको भन्दै त्यसमा समेत नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले एउटा जिल्लाबाट अर्को जिल्ला, एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जाने कुरालाई पूर्ण रुपमा नरोक्ने हो भने परीक्षण गरेर मात्रै कोरोना रोकथाम र नियन्त्रण नहुने पनि बताउनुभयो । ‘अहिले उपत्यकामा लकडाउनका बेला उपत्यका भित्र र बाहिर आउ–जाउ गर्ने नै अधिकांश संक्रमित भएको देखिएको छ । अझै पनि यो निरन्तर रहने हो भने उपत्यका झन भयावह हुनसक्छ,’ उहाँले भन्नुभयो, ‘उपत्यका प्रवेशमा कडाई नगर्ने अनि लुकिछिपी र पहुँचका आधारमा उपत्यका प्रवेश गरेका संक्रमित र उनीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षण गर्दै जाने हो भने कोराना अघि–अघि, राज्य पछि–पछि हुन्छ र संक्रमण पनि नियन्त्रण बाहिर गएर भयावह हुनसक्छ । नियन्त्रण पनि कठिन हुन्छ । हामीले पटक–पटक यहि सुझाव दिदैँ आएका छौँ ।’

पीसीआर परीक्षणमा होडबाजी होइन, सीमाका क्वारेन्टाइनमा जोड

उहाँले उपत्यका प्रवेशमा कडाई गर्न आग्रह गर्दै आरडीटी र पीसीआर परीक्षणमा हुने खर्चले सीमा–सीमामा सुविधा सम्पन्न क्वारेन्टायन निर्माणमा ध्यान दिन सुझाव दिनुभयो । ‘अहिले सीमा–सीमामा भारतबाट आउने नेपाली नागरिकको चाप बढेको, क्वारेन्टायनमा खाने–बस्ने सुविधा नभएको, क्वारेन्टायनबाट संक्रमित र अन्य भाग्ने गरेको भन्ने समाचार आइरहेका छन्,’ उहाँले भन्नुभयो, ‘उपत्यका जनघनत्व बढी भएको क्षेत्र हो । उपत्यका असुरक्षित हुँदा एकै पटकको परीक्षणमा करोडौँ रुपैयाँ खर्च हुन्छ । त्यसैले उपत्यकालाई सुरक्षित बनाउने रणनीति बनाऔँ । अनि यहाँ परीक्षणमा हुने खर्चलाई सीमाका क्वारेन्टायनलाई व्यवस्थित गर्ने र परिक्षणको दायरा बढाउनेमा ध्यान दिऔँ । त्यसले सरकारप्रतिको विश्वास पनि बढेर जान्छ ।’

क्वारेन्टायनमा राम्रो खाना १४ दिनसम्म खाने व्यवस्था, बस्ने सुविधा राम्रो भयो भने सरकारको विरोध पनि कम हुने उहाँले दाबी गर्नुभयो । ‘लकडाउनको अवज्ञा गर्दै पहुँचका आधारमा र लुकिछिपी एक ठाउँबाट अर्को ठाउँमा जादाँ संक्रमित एक जनाका कारण सयौँ जनाको परीक्षण गर्नुपर्ने र क्वारेण्टायनमा राख्नु पर्ने हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसमा पनि थप केहीको पीसीआर पोजेटिभ देखियो भने हजारौँको परीक्षण गर्नु पर्ने हुन्छ । जसका कारण राज्यको करोडौँ खर्च हुन्छ । एक व्यक्तिको गल्तीका कारण राज्यको करोडौँ खर्च हुने अनि संक्रममित अघि–अघि राज्य पछि–पछि कुद्नु पर्ने अवस्था आउन सक्छ । यो विषयमा पनि राज्य गम्भीर हुन जरुरी छ ।’

अर्थतन्त्र चौपट

पछिल्लो समय परीक्षण–परीक्षण मात्रै भनेर अर्थतन्त्रका बारेमा ध्यान नदिदाँ थप जटिलता पैदा भएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । ‘परिक्षण–परीक्षण मात्रै भनिरहेका छौँ, त्यसको पछिको आर्थिक पाटोका बारेमा हामीले सोचेकै छैनौँ,’ उहाँले भन्नुभयो, ‘पहुँचका आधारमा संक्रमणको दायरा भित्र नपरेका व्यक्तिमा समेत पीसीआर गर्नुपर्छ भन्ने होडबाजी चल्ने हो भने राज्य खोक्रो हुन्छ । राज्यले सित्तैमा गर्ने हो पहुँच लगाएर परीक्षण गरौँ भन्ने लहडमा हामी हिड्यौँ भने मुलुकको अर्थतन्त्र नियन्त्रण भन्दा बाहिर जानसक्छ ।’

लकडाउनको अवज्ञा गरेर लुकीछिपी राज्यको आँखा छलेर जथाभावी हिड्ने व्यक्तिका कारण कोरोना संक्रमण फैलिने अवस्था आयो भने त्यस्ता व्यक्तिलाई दण्डित गर्नेसम्मको तयारी राज्यले गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । ‘शंकास्पद व्यक्ति हो भने त्यसलाई जहाँ हो त्यहि रोकेर क्वारेण्टायनमा राख्ने, परीक्षण गर्ने गर्नुपर्छ,’ शाक्यले भन्नुभयो, ‘तर, पहुँचका आधारमा जथाभावी परीक्षण गर्ने होडका कारण सिमित स्रोत–साधन भएको हाम्रो जस्तो मुलुकमा संक्रमितले परिक्षण नपाउने र संक्रमण झन भयावह हुने खतरा बढी हुन्छ ।’

नाकामा कडाई, अर्थतन्त्र चलायमान

‘काठमाडौँ उपत्यका संघीय राजधानी हो । यहाँका उद्योग नचल्दा अर्थतन्त्रमा गम्भीर असर पर्छ । यहाँका उद्योग–धन्दा महिनौँसम्म ठप्प हुँदा देशको अर्थतन्त्रमा नै नकरात्मक सूचक देखापर्छ । यो बारेमा पनि गम्भीर भएर सोच्नुपर्छ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘दुई–चार जना मान्छे लुकिछिपी भित्रिने अनि उनीहरुले संक्रमण फैलाउने कुरा शान्त तलाउमा ढुंगा हाने जस्तै हो । परीक्षणका नाममा खर्च बढ्ने अनि आन्दामीका स्रोतहरु बन्द हुने हो भने हामी दोहोरो मारमा पर्छौ र झन भयावह अवस्था आउन सक्छ ।’

उहाँले उपत्यका पूर्णरुपमा सील गरेर यहाँ जति जनशक्ति छ, त्यहि जनशक्तिलाई परिचालन गरेर उद्योग, कलकारखाना र निर्माणका काम अघि बढाउने रणनीति तय गर्न आग्रह गर्नुभयो । ‘यसो भयो भने समस्या हुँदैन । अहिले तत्काल उद्योग–व्यवसाय चलाउने, कार्यालय खोल्ने, निर्माणका काम अघि बढाउने नाममा अनावश्यक रुपमा नागरिक उपत्यका भित्र्याउने हो भने झन समस्या हुन्छ,’ उहाँले भन्नुभयो, ‘अहिले उपत्यकामा जति जनशक्ति छ, त्यसैले सामाजिक दुरी कायम गर्ने, सुरक्षाका सबै उपाय अपनाउने गरेर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्छ । विस्तारै संक्रमणको खतरा कम हुँदै गएपछि उपत्यका प्रवेशमा सहज बनाउनुपर्छ ।’