सुदूरपश्चिमका नाकाबाट परीक्षण बिनै भित्रिए १५ हजार नेपाली

maitrinews

 

महेन्द्रनगर । कोरोना भाइरसको सन्त्रासमा गरिएको लकडाउनबीच कामको सिलसिलामा भारतमा रहेका नेपाली नागरिक त्यहाँबाट धमाधम घर फर्किन थालेका छन्। भारतमा लकडाउन खुकुलो भएपछि भारतका विभिन्न शहरबाट नेपालीहरु घर फर्किन थालेका हुन्।

केही दिन यता मात्रै सुदूरपश्चिमका नाकाहरुबाट करिब १५ हजार नागरिकलाई भित्राइएको छ। कञ्चनपुरको गड्डाचौकी र दोधारा–चाँदनी, कैलालीको गौरीफन्टा, बैतडीको झुलाघाट नाकाबाट उनीहरुलाई प्रवेश दिइएको हो। यसरी भित्रिएका हजारौंलाई कोरोना परीक्षणबिना नै नाका प्रवेश गराइए पछि कोरोनाको जोखिम बढेको छ।
सुदूरपश्चिममा सबैभन्दा बढी धनगढीस्थित गौरीफन्टा नाकाबाट नेपालीहरु भित्रिएका छन्। नौ दिनको अवधिमा कैलालीको गौरिफन्टा नाकाबाट १२ हजार ५२ जना मानिस स्वदेश भित्रिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो। उहाँका अनुसार जेठ २ गते तीन सय ८३ जना, जेठ ३ गते चार सय ३ जना, जेठ ७ गते आठ सय ३४ जना, जेठ ८ गते २४ सय ९८ जना, जेठ ९ गते दुई हजार ११ जना, जेठ १० गते १९ सय ५९ जना र जेठ ११ गते ३९ सय ६४ जनालाई नाका प्रवेश गराइएको छ।

यस्तै, पछिल्लो एक सातामा कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रको दशगजामा अलपत्र एक हजार र बैतडीको झुलाघाट नाकाबाट तीन सय ७८ जनाको पनि उद्धार गरिएको छ। सोमबार कञ्चनपुरको गड्डाचौकी नाकाबाट २३ सय भन्दा बढी नेपाली भित्रिएका छन्।

सुदूरपश्चिमका नाकाबाट उद्धार गरिने नागरिकहरु महाकालीदेखि पूर्व मेचीसम्मका छन्। धेरैजसो सुदूरपश्चिमका पहाडी जिल्लाका छन्।