प्रधानमन्त्री रोजगार कार्यक्रमद्वारा रोजगारी प्रदान

Mohan Bastola

काठमाडौँ । जुम्लाको हिमा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमद्वारा आर्थिक अवस्था कमजोर भएका १ सय ६१ जनालाई कामसहित रोजगारी दिएको छ । गाउँपालिकाका विभिन्न वडामा आरसिसी, गोरेटो बाटो, सिँचाइ कुलो, ढल निकास र कृषि सडक निर्माणको काम दिएको तथा गाउँपालिकाले तयार पारेको तथ्यांकअनुसार अतिविपन्न र बेरोजगारलाई जारी बन्दाबन्दीका समयमा काम दिएको गाउँपालिकाका रोजगार संयोजक दीपेन्द्र पौडेलले बताउनुभयो ।

लामो समयदेखि लकडाउन हुँदा घरखर्च चलाउन गाह्रो भएका अतिविपन्नलाई गाउँपालिकाले रोजगारीको अवसर प्रदान गरेपछि रोजगार कार्यक्रममा आबद्ध मजबुदर खुशी भएको स्थानीयवासी जयबहादुर रोकायाले बताउनुभयो । प्रधानमन्त्री रोजगारमार्फत खटिएकालाई दैनिक रु ६६० का दरले पारिश्रमिक प्रदान गरिने गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताउनुभयो ।

कार्यक्रमका लागि गाउँपालिकाका एक हजार ७८५ रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएका छन् । सो कार्यक्रमका लागि सरकारले चालू आर्थिक वर्षमा गाउँपालिकालाई रु ४२ लाख सशर्त अनुदान दिएको छ । सोही कार्यक्रममार्फत गाउँपालिकामा विभिन्न आयोजना सञ्चालन गरिने गाउँपालिका रोजगार शाखाले जनाएको छ ।
जिल्लाका तातोपानी, कनकासुन्दरी, पातारासी र चन्दननाथ नगरपालिका तथा गुठीचौर गाउँपालिकाबाट अतिविपन्न र बेरोजगारको तथ्यांक संकलनको काम अन्तिम चरणमा पुगेको छ लकडाउनको सास्ती खेपिरहेका नागरिकलाई एक हप्ताभित्र कामसहितको रोजगारी दिइने तातोपानी गाउँपालिकाका रोजगार संयोजक सरिता शर्माले बताउनुभयो ।