प्रधानमन्त्री ‌ओली र ईजरायली प्रधानमन्त्री बेनजामिन नेतान्याहूबीच टेलिफोन वार्ता

maitrinews

तेलअभिअ । नेपाल ईजरायल बिच कूटनैतिक सम्बन्ध स्थापना भएको ६०औँ बर्षगाँठको अवसरमा नेपालका सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ‌ओलीज्यूले ईजरायली प्रधानमन्त्री H.E. Benjamin Netanyahu सँग टेलिफोन वार्ता गर्नुभएको छ। ईजरायलको समय अनुसार आज दिउँसो २:३० बजे नेपाली समय अनुसार अपरान्ह ५:१५ बजे भएको उक्त टेलिफोन संवादमा ६०औँ बर्षगाँठको उपलक्ष्यमा प्रधानमन्त्रीद्वयले आफ्नो, सम्माननीय राष्ट्रपतिको र आआफ्ना देशका जनताको तर्फबाट एकअर्कालाई शुभकामना दिनुहुंदै अभिवादन साटासाट गर्नुभयो।

 

 

प्रधानमन्त्रीद्वयले बिगत ६० बर्षदेखि रहीआएको सुमधुर सम्बन्ध भविष्यमा थप प्रगाढ बन्दै जानेमा विश्वास व्यक्त गर्नुभयो ।

संवादमा कोरोनाले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभावको पनि चर्चा भएको थियो । सम्माननीय प्रधानमन्त्रीले COVID-19 को Pandemic कारण ईजरायलमा ठूलो संख्यामा मानिसहरू संक्रमित भई सैयौं व्यक्तिको निधन भएकोमा गहिरो समवेदना प्रकट गर्नुभयो। वहाँले नेपालमा कोरोना संक्रमणलाई बढ्न नदिन चालिएका कदमहरु बारेमा जानकारी गराउंदै प्रभावकारी रूपमा कोरोना नियन्त्रण गर्न सक्षम भएकोमा बधाई दिंदै यसका लागि ईजरायल सरकारले चालेका कदमहरूको प्रशंसा गर्नुभयो। यी कठिन दिनहरुमा ईजरायली सरकारले नेपालीहरुलाई सहयोग गरेकोमा कृतज्ञता व्यक्त गर्दै त्यहाँस्थित नेपाली समुदायले ईजरायली सरकारबाट आगामी दिनमा समेत संरक्षण र समर्थन प्राप्त गरिरहने विश्वास व्यक्त गर्नुभयो ।

दुवै प्रधानमन्त्रीले विशेषगरी कृषि, पर्यटन, लगानी, व्यापार तथा प्रविधि हस्तान्तरणको क्षेत्रमा सहकार्यको बढी सम्भावना भएको औंल्याउँदै सम्बन्धलाई थप उचाइमा पुर्‍याउनका लागि उच्चस्तरीय भ्रमणहरुको आदान(प्रदानको आवश्यकतामा जोड दिनुभयो।
प्रधानमन्त्रीले कोरोनाको अन्त्यसँगै ईजरायलका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गर्न निम्तो दिनुभएको छ। सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ‌ओली र ईजरायली प्रधानमन्त्री गाभी आस्केनाजी बिच टेलिफोन वार्ता भएको यो दोश्रो पटक हो । यस अघि नेपालका माननीय परराष्ट्र मन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यूले आफ्ना ईजरायली समकक्षी गाभी आस्केनाजी सँग आजै दिउसो १२ बजे नेपाली समय अनुसार दिउँसो २:४५ बजे टेलिफोन वार्ता गरी शुभकामना आदानप्रदान गर्नुभएको थियो ।

वार्तापछि प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सो सम्बन्धमा ट्वीट गर्नु भएको थियो भने इजरायलका प्रधानमन्त्रीले पनि ट्वीट गर्नु भएको जानकारी प्राप्त भएको छ ।