म्यानमार र यूएईबाट १९५ जना नेपाली फर्किए

maitrinews

 

काठमाडौँ । लकडाउन सुरु भएपछि पहिलोपटक म्यानमार र संयुक्त अरब इमिरेट्स ९युएई० बाट एक सय ९५ नेपाली शुक्रबार स्वदेश फर्किएका छन् । युएईबाट एयर अरेबियाको जहाज चार्टर गरेर एक सय ६९ जना नेपाली स्वदेश आइपुगेका छन् भने म्यानमारबाट एयरफोर्सको विमानले २६ जना नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइदिएको हो । आफ्ना ४१ नागरिक लिन आएको म्यानमार एयरफोर्सको विमानले नेपाली ल्याइदिएको हो ।

एयर अरेबिया जहाजमा युएई सरकारले निःशुल्क चार्टर गरेर पठाउने भनेर प्रचार गरिए पनि अन्तिम समयमा कामदारले नै भाडा दिनुपर्ने प्रस्ताव आएको थियो । नेपाली दूतावासले निःशुल्क नेपाल ल्याउने कामदारको सूचीसमेत तयार पारेको थियो । तर, युएई सरकारले भाडा व्योहोर्न नसक्ने जनाउ दिएपछि आउनेको सूची एकाएक परिवर्तन गरियो । सोही कारण दिउँसो १२ बजे काठमाडौं आइपुग्ने भनिएको जहाज पौने ४ बजे मात्रै अवतरण गरेको थियो ।

कोभिड–१९ संकट व्यवस्थापन सेन्टर ९सिसिएमसी०ले विदेशबाट उद्धार गर्न विभिन्न मापदण्ड तयार पारेको थियो । सजायबाट आममाफी पाएका, डिटेन्सन सेन्टरमा रहेका, जुनसुकै कारणले बहिर्गमन भिसामा रहेका, आफन्तको मृत्यु भई काजकिरियाका लागि आउनुपर्ने, रोजगारी गुमाएका, सुत्केरी, ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा ल्याउने गरी दूतावासले सूची तयार पारेको थियो । सोही सूची विमानस्थल, सेना र इमिग्रेसनलाई दिइएको थियो । तर, त्यो सूचीअनुसार कामदार आएनन् ।

खासमा नेपालको परराष्ट्र मन्त्रालय, युएईको विदेश मन्त्रालय, नेपाली दूतावास र एयर अरेबियाबीचको संवाद तथा समन्वय नै ठीकसँग नहुँदा यस्तो समस्या देखिएको छ । खासमा युएईको विदेश मन्त्रालयले नेपालको परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर एयर अरेबियामार्फत नेपाली कामदार पठाउने जानकारी गराएको थियो ।

जसमा एयर अरेयिबाले नेपालमा आठवटा निःशुल्क उडान गर्ने, युएईको एयरपोर्टमा नै कामदारको निःशुल्क कोरोना परीक्षण गर्ने उल्लेख थियो । भोलिको दिनमा अवस्था सामान्य भएमा अहिले फर्कने श्रमिकलाई पुनः युएईमा फर्कन प्राथमिकता दिइने पनि पत्रमा उल्लेख थियो । यसको बोधार्थ युएईस्थित नेपाली दूतावासलाई पनि दिइएको थियो ।