न्युजिल्याण्ड बन्यो कोरोना संक्रमणमुक्त, सबै प्रतिबन्ध हटाइयो

maitrinews

 

वेलिङ्टन । न्युजिल्याण्डले कोरोना भाइरससँग सम्बन्धित सबै घरेलु प्रतिबन्धहरु हटाएको घोषणा गरेको छ। कोभिड–१९ बाट संक्रमित अन्तिम व्यक्ति पनि संक्रमणमुक्त भएसँगै न्युजिल्याण्डले यस्तो घोषणा गरेको हो।

प्रधानमन्त्री जेसिन्डा आर्डन अन्तर्राष्ट्रिय सीमामा जारी प्रतिबन्धहरु भने यथावत रहने बताउनुभयो। उहाँले सामाजिक दूरी र सार्वजनिक स्थलमा हुने भेला, समारोहमा रहेका सीमितताहरु हटाइएको पनि घोषणा गर्नुभयो ।

टेलिभिजनबाट प्रशारित एक सम्बोधनमा प्रधानमन्त्री आर्डनले भन्नुभयो, ‘अहिलेका लागि न्युजिल्याण्डमा कोरोना भाइरसको प्रसार पूर्णरुपमा रोकिएकामा हामी विश्वस्त छौं। भाइरसलाई नियन्त्रणमा ल्याउन जनताले देखाएको अभूतपूर्व एकताको म प्रशंसा गर्दछु।’

करिब ५० लाख जनसंख्या रहेको दक्षिणी प्रशान्त महासागरीय राष्ट्र न्युजिल्याण्डमा कोभिड–१९ बाट एक हजार १५४ जना संक्रमित हुनुका साथै २२ जनाको ज्यान गएको थियो।

पछिल्लो १७ दिनदेखि न्युजिल्याण्डमा नयाँ संक्रमण देखिएको छैन। पछिल्लो एक सातामा एक जनामा मात्र कोरोना संक्रमण देखिएको थियो।