राष्ट्रियताको मुद्दामा संसदमा राष्ट्रिय एकता देखिएकोमा खुसी छुः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विनियोजन बजेटमाथि उठेका प्रश्नको जवाफ दिनुभएको छ । जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भौगोलिक अखण्डता र आफ्नो भूमिमा हक स्थापित गर्ने साझा प्रयास भएको बताउनुभयो । उहाँले पूर्खाले यो देश लडेर बनाएको र बचाएको भन्दै अहिले हामी अडे मात्र हाम्रो भौगोलिक अखण्डता स्थापित गर्न सकिने बताउनुभयो । ‘अड्ने कुरामा राष्ट्र एक देखिएको छ र संसदले जनभावना मुखरित गरेको छ,’ उहाँले भन्नुभयो, ‘राष्ट्रियताको मुद्दामा संसदमा राष्ट्रिय एकता देखिएकोमा खुसी छु ।’

लिम्पियाधुरासहित महाकाली पूर्वका भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई विचार गरियोस् भन्ने प्रस्ताव मंगलबार संसदले सर्वसम्मत पास गरेको थियो । संसदभित्र र बाहिर देखिएको राष्ट्रिय एकताप्रति आफूलाई गर्व लागेको उहाँले बताउनुभयो ।
उहाँले यो कसले जस लिने र कसको देवत्वकरण गर्ने भन्ने विषय नभएको भन्दै सिंगो नेपालीको साझा भावनाको प्रकटीकरण भएको बताउनुभयो । ‘यसमा हामीले लामो समयदेखि उठाएका छौं । जनस्तरबाट उठेको छ । आफ्नै स्वेच्छाले खोज गरेका छन् । तथ्यहरु स्थापित गरेका छन् र, यसमा कसैले पाउला कि भन्ने चिन्ता गर्नु पर्दैन । कोही जसबाट छुट्ला कि भन्नु पर्दैन । यो हाम्रो संसदको सर्वसम्मतको निर्णय हुन्छ । सर्वसम्मत गरेपछि सबैका भोट, सबैका भावना एकै ठाउँमा समहित छ भन्ने प्रष्ट हुन्छ ।’