कोरोना लागेको पत्तै नपाई ज्यान गुमाए

maitrinews

 

अर्घाखाँची । क्वारेन्टाइनमा बस्दा बिरामी भएपछि अस्पताल भर्ना हुन गएका अर्घाखाँचीका एकजनाको बुधबार बाटोमै मृत्यु भएको छ । अस्पतालले भर्ना नगरेपछि क्वारेन्टाइनमा फर्किंदा मृत्यु भएका मालारानी गाउँपालिका निवासी ५७ वर्षीय पुरूषलाई कोरोना संक्रमण भएको बिहीबार रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय विकले बताउनुभयो ।

पिसिआर रिपोर्ट पोजेटिभ आएपछि व्यवस्थापनको टुंगो नलाग्दा शुक्रबार विहानसम्म शव पौवामै अलपत्र अवस्थामा छ । उनका आफन्त र स्थानीय तीन दिनदेखि शवलाई पौवामा राखेर कुर्दै बसेका छन् । शव व्यवस्थापनका लागि स्थानीय र प्रशासनबीच छलफल भइरहेको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिनुभयो ।

१५ जेठमा भारतको मुम्बईबाट आएका उनी मालारानी गाउँपालिका– ४ को क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा बसेको एक सातापछि छाती दुख्ने, सास फेर्न गाह्रो हुने समस्या देखिएको थियो । त्यसपछि उनको कोरोना परीक्षणका लागि २३ जेठमा स्वाब संकलन गरेर भैरहवा प्रादेशिक अस्पताल पठाएको थियो ।

एक सातासम्म रिपोर्ट नआएपछि उनी २७ जेठमा उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क गएका थिए । जिल्ला अस्पतालले प्रादेशिक अस्पताल बुटवल रिफर गरेको थियो । त्यही दिन बुटवल पुगेका उनलाई अस्पतालले भर्ना गरेन । कोरोनाको रिपोर्ट आएपछि मात्रै भर्ना गर्ने भन्दै अस्पतालले भर्ना नगरेको उनका छोराले बताए ।

अस्पतालले भर्ना नगरेपछि उनी २८ जेठमा औषधि बोकेर फेरि क्वारेन्टाइनतर्फ फर्केका थिए । तर, क्वारेन्टाइनमा नपुग्दै बुधबार साँझ उनको बाटोमै मृत्यु भएको थियो ।