जसपा पनि संविधान संशोधनको पक्षमा

maitrinews

 

काठमाडौं। जनता समाजवादी पार्टीले संविधान संशोधनका लागि नेपालले सरकारद्वारा प्रतिनिधिसभामा प्रस्तुत विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
जसपा नेपालका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । जसपा नेपालका नेता विश्वदीप पाण्डेका अनुसार संविधान संशोधनका लागि सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेका विधेयकको पक्षमा मतदान गर्ने जसपा नेपालले निर्णय गरेको छ ।
नेपालको संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन आवश्यक भएकाले सरकारले प्रतिनिधिसभा विधेयक दर्ता गराएको थियो । जेठ २७ गते सो विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतीले स्वीकृत भइसकेको छ । विधेयकको स्वीकृतीसँगै संशोधनका लागि प्रक्रिया अगाडि बढेको छ ।
यसअघि समाजवादी र राजपा नेपालले विभिन्न २३ बुँदे माग राख्दै संसद सचिवालयमा छुट्टै संविधान संशोधनको गैरसरकारी विधेयक दर्ता गराएको छ । हालसम्म त्यो विधेयकको बारेमा कुनै निर्णय भएको छैन । तर समाजवादी पार्टी र राजपा नेपाल मिलेर बनेको जसपा नेपालले सरकारी विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । अर्कोतिर समाजवादी पार्टीका सांसद सरिता गिरीले सरकारले प्रस्तुत गरेको विधेयक फिर्ता लिन माग गर्दै संसद सचिवालयमा प्रस्ताव दर्ता गराउनु भएको छ । तर समाजवादी पार्टी संसदीय दलले सांसद गिरीलाई सो प्रस्ताव फिर्ता लिनका लागि निर्देशन दिएको छ ।