३६ अर्ब ३५ करोड २५ लाखको बजेट, विदेश भ्रमण खर्च कटौती

Mohan Bastola

बुटवल । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले आगामी वर्षको बजेट प्रदेश सभामा पेश गर्दै चालूतर्फ १२ अर्ब ५९ करोड २४ लाख र पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ रहेको बताउनुभयो । उहाँका अनुसार वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड बजेट छ।

सरकारले ल्याएको बजेटले कोरोना भाइरसका कारण उत्पन्न महामारीबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्ने प्रयास गरेको छ।स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार थप गर्दै अस्पतालहरु स्तरोन्नति गर्ने, बेरोजगार बनेका युवालाई रोजगार दिने, उत्पादनमुखी कार्यक्रमका साथै कृषिलाई व्यवसायिक बनाउनेतर्फ जोड दिने जस्ता कार्यक्रम र योजना बजेटमा छन्।

सरकारले ल्याएको बजेटमा सबैभन्दा धेरै रकम भौतिक पूर्वाधार विकासमा रहेको छ। जसमा १५ अर्ब २ करोड रुपैयाँ बजेट छ । यसपटक प्रदेश सरकारले विदेश भ्रमण खर्च कटौती गरेको छ भने कार्यालय सामग्री खरिदका लागि पनि खर्च कटौती गरिएको छ।