सरकारद्वारा धानको मूल्य निर्धारण, किसान खुसी

maitrinews

 

काठमाडौँ । सरकारले सबैभन्दा उत्तम समयमा धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । जसले गर्दा किसान खुसी भएका छन् ।

यतिवेला देशभरका किसान चैतमा रोपेको मोटा धान भित्र्याउने चटारोमा छन् भने वर्षेधान रोपाँको तयारी गरिरहेका छन् । यस्तो वेला निर्धारण भएको मूल्यले चैतेधान बिक्री गर्न किसानलाई धेरै सहज भएको छ । मन्त्रिपरिषद् बैठकले मोटा धानको मूल्य दुई हजार सात सय ३५ रुपैयाँ प्रतिक्वीन्टल निर्धारण गरेको छ ।

अहिले तराईका किसानको खेतमा काट्न ठिक्क पारिएको चैतेधान मोटो हो । त्यसैले यसको मूल्य प्रतिक्विन्टल दुई हजार सात सय ३५ रुपैयाँ पाउने भएका छन् । त्यसैगरी सरकारले मध्यम धानको मूल्य दुई हजार आठ सय ८५ रुपैयाँ निर्धारण गरेको छ । यो वर्षेधानको रूपमा रोपिने मन्सुली, बाँसधान, बासमतीलगायतका लागि निर्धारण गरिएको मूल्य हो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका उपसचिव गंगा आचार्यका अनुसार यो वर्षवर्षे धान लगाउनुअघि नै मूल्य निर्धारण गर्ने योजनाअनुसार सरकारले निर्णय गरेको हो । ‘हामीले यो वर्ष धानको समर्थन मूल्य बाली लगाउनुअघि नै निर्धारण गर्ने योजनाअनुसार सबै लागत तयार गरेका थियौँ,’ उहाँले भन्नुभयो, ‘कुल लागतमा १० प्रतिशत ढुवानी खर्च र २० प्रतिशत किसानको मुनाफा जोडेर मूल्य तय भएको छ ।’

उहाँले देशका विभिन्न जिल्लामा धान रोपाइँदेखि कटानसम्म हुने खर्चका शीर्षक निकालेर लागत निर्धारण गरेको बताउनुभयो । ‘धान रोप्दा लाग्ने ज्याला, मल, बिउ, पानी, किसान स्वयंको परिश्रमलगायत सबै कुरा जोडेर लागत तयार गरेका थियौँ । त्यसमा मुनाफा जोडेर मूल्य तोक्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सिफारिस गरेका थियौँ,’ उहाँले भन्नुभयो । उद्योग मन्त्रालयले कृषिको सिफारिसअनुसार धानको मूल्य तोक्न मन्त्रिपरिषदमा सिफारिस गरेको करिब एक सातामै सरकारले निर्णय गरेको हो ।