भारत–चीन तनावपछि विदेशमन्त्रीस्तरीय टेलिफोन वार्ता

maitrinews

 

लद्दाक । पूर्वी लद्दाखमा सोमबार राति सेनाबीच भएको हिंसात्मक परिस्थिति सामान्य पार्न भारत र चीन सहमत भएका छन् । तर, दुवै देशको राजनीतिक, कूटनीतिक र सैन्य नेतृत्व सम्भावित परिस्थितिको सामनाका लागि रणनीति निर्माणमा जुटेको छ ।

भारतीय विदेशमन्त्री डा। सुब्रमण्यम जयशंकर र चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वांग यीले बुधबार टेलिफोन संवादमा परिस्थितिप्रति एक–अर्कालाई दोषारोपण गरे पनि सीमा क्षेत्रमा दुवै पक्षबीच संवादमार्फत शान्ति कायम गर्ने सहमति व्यक्त गर्नुुभएको छ । पूर्वी लद्दाखको गलवान उपत्यकामा बुधबार भारतीय र चिनियाँ सेनाका डिभिजन कमान्डरस्तरीय तीन घन्टा भएको वार्ता भने विनानिष्कर्ष टुंगिएको थियो । चीन र भारतका सेनाबीच भएको हिंसात्मक झडपमा भारतीय सेनाका एक उच्च अधिकारीसहित २० जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी सैनिक घाइते भएका छन् । चिनियाँ सेनातर्फ क्षति भएको अनुमान गरिए पनि अहिलेसम्म चीनले कुनै तथ्यांक सार्वजनिक गरेको छैन ।

विदेशमन्त्रीस्तरीय संवादमा दुवै पक्षले घटनामा एक–अर्कालाई दोषारोपण गरे पनि संवादका सबै च्यानल खुला गर्ने र आपसी समन्वय गर्ने वचनबद्धता व्यक्त गरेका छन् । भारतीय विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री डा। जयशंकरले घटनाको कडा विरोध गर्नुभएको छ। जयशंकरले वरिष्ठ सैन्य कमान्डरहरूको बैठकमा सीमा क्षेत्र एलएसीबाट क्रमशः सैनिक फिर्ता गर्ने सहमति भएको र यसको कार्यान्वयनका लागि फिल्ड कमान्डरहरूको छलफल भइरहेका वेला चीनबाट घटना गराइएको आरोप लगाउनुभयो। तर, भारतले चीनले रणनीतिक कदमअन्तर्गत हमला गरेको आरोप लगाएको छ ।

छलफल सकारात्मक भइरहेका वेला चिनियाँ पक्षले सीमा क्षेत्रतर्फ गलवान उपत्यकामा संरचना निर्माण गर्न खोजेको र भारतीय सैनिकले यसको विरोध गर्दा चिनियाँ सैनिक हिंसात्मक आक्रमणमा उत्रिएको भारतीय विदेशमन्त्री जयशंकरले चिनियाँ समकक्षीलाई बताउनुुभयो । भारतले भनेको छ, ‘चिनियाँ पक्ष योजनाबद्ध रूपमा आक्रमणमा उत्रिएका कारण हिंसा भएको हो । यसमा चिनियाँ पक्ष जिम्मेवार छ । चीनले आफ्ना कार्यहरूको पुनर्मूल्यांकन गर्न तथा परिस्थिति सुधारमा ल्याउन कदम चाल्नुपर्छ ।’