एमसीसी पास गर्न काँग्रेसले दियो दबाब

maitrinews

 

काठमाडौँ । एमसीसी पास गर्न नेपाली काँग्रेसले दबाब दिएको छ । सदनमा विचाराधीन नागरिकता विधेयक तथा एमसीसी सम्झौता लगायतका विषयमा सत्तारुढ र प्रतिपक्ष दलका नेता छलफलमा जुटेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका केही नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवासहितको टोलीबीच छलफल भएको हो ।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार छलफलमा प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति देउवा, नेताहरु रामचन्द्र पौडेल, रामशरण महतलगायत सहभागी हुनुहुन्थ्यो ।

एमसीसीसँगको सम्झौता एक वर्षदेखि प्रतिनिधिसभा सचिवालयमा विचारधीन छ। नागरिकता विधेयक दुई वर्षदेखि संसदीय समितिमा अलपत्र छ। नागरिकता विधेयकमा सहमति गर्न गृहमन्त्रीले बुधबार संसदीय समितिमा ५ दिन समय माग्नुभएको थियो ।

एमसीसीबारे नेकपाभित्र विवाद छ। कांग्रेसले निरन्तर रुपमा उक्त सम्झौता सदनबाट अनुमोदनको पक्षमा आवाज उठाउँदै आएको छ।

प्रधानमन्त्री ओलीले बिहीबार राष्ट्रिय सभामा एमसीसीबारे नपढी हल्ला फैलाएको बताउनुभएको थियो। एमसीसीकै बिषयमा छलफलका लागि नेकपाले असार १० गते स्थायी कमिटी बैठक बोलाएको छ।
कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी राष्ट्रको हितमा भएको बताउँदै छिट्टै संसदको विषय बनाएर टुंग्याउनु पर्ने बताउनुभएको छ ।