आज सूर्यग्रहण, यस्तो ग्रहण अब ४४ वर्षपछि

maitrinews

 

काठमाडौं ।आज सूर्यग्रहण लाग्दैछ। आज लाग्ने ग्रहणले सूर्यलाई पुरै ढाक्ने भए पनि नेपालबाट भने खण्डग्रास देख्न सकिने छ।

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाँया पृथ्वीमा पर्नुलाई सूर्यग्रहण भनिन्छ।

नेपालमा बिहान १०ः५५ देखि सुरु हुने ग्रहण दिउँसो २ः२४ बजे समाप्त हुने छ। मध्याह्न १२ बजेर चार मिनेट जाँदा ग्रहणले सूर्यलाई करीव ८८ प्रतिशत ढाकेको देखिने खगोलविद्ले बताएका छन्। नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिने छ। ग्रहणका समयमा तापक्रम घटेर चिसो अनुभव हुनेछ।
आजको सूर्यग्रहण कंगोबाट सुरु भई सुडान, इथियोपिया, यमन, ओमान, दक्षिण पाकिस्तान, उत्तरपश्चिम भारत, भारतको देहरादुन, कुरुक्षेत्र र दक्षिणपूर्वी चीन हुँदै प्रशान्त महासागरमा गएर अन्त्य हुनेछ। काठमाडौँबाट भने आजको सूर्यग्रहणलाई खण्डग्रासको रुपमा अवलोकन गर्न सकिने छ।

सूर्यग्रहण खाली आँखाले हेर्न हुँदैन। सूर्य ग्रहण हेर्दा आँखाको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिना नष्ट हुन गई मानिस सदाका लागि अन्धोसमेत हुन सक्ने विज्ञहरुले बताएका छन्। सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्छ।